वैदेशिक व्यापार कमजोर, ६५ अर्बको निर्यात हुँदा ४ खर्ब ७८ अर्बको आयात

नेपालखोज २०७८ कार्तिक ३० गते १७:२३

काठमाडौं । नेपालको वैदेशिक व्यापार कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको प्रतिवेदन अनुसार वैदेशिक व्यापार कमजोर देखिएको हो ।

यसअवधिमा मुुलुकको कुल वस्तु तथा सेवा निर्यात बढेको देखिएपनि आयात उच्च रुपमा बढ्दा वैदेशिक व्यापारको चक्र खल्लबलिएको छ । सोही आधारमा व्यापार घाटा बढेको हो ।

प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४७ दशमलव एक प्रतिशत, १९ दशमलव चार प्रतिशत र २७ दशलव दुई प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात भने ६३ दशमलव सात प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव सात प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८ दसमलव चार प्रतिशत, ५५ दशमलव दुई प्रतिशत र एक सय २४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको भएपनि सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात भने घटेको छ ।

प्रतिवेदन अनुसार चालुु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल वस्तु व्यापार घाटा भने ५८ दशमलव तीन प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दसमलव छ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दसमलव छ प्रतिशत रहेको छ ।

प्रतिक्रिया