बुधबार, जेठ १, २०८२

देश भरिका १८ उच्च अदालतमा विरोध प्रदर्शन गर्ने बारको निर्णय

नेपालखोज २०७८ कार्तिक ३० गते २१:५८

काठमाडौं । प्रधान न्यायाधिश चोलेन्द्र समशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मकोलाई आन्दोलनको कार्यक्रम थप गरेको हो ।

आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराको राजिनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठक पछि संचारकर्मीहरुसँग बोल्दै नेपाल बार एसोसियसनका महासचिव लिलामणि पौडेलले मंसिर ३ गते संसदमा रहेका सबै दलहरुको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए ।

त्यस्तै नेपाल बारले प्रधानन्यायाधिश बिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यस्तै प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराले अहिलेसम्म गरेका विवादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निर्णय गरेको छ ।

नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । यस प्रकारको भ्रामक समाचारको विश्वाश नगर्न आग्रह गरेको छ । साथै सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्ध सैनिक बल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ ।

नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्याधिश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ । यस्तै न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया