पाटनको कात्तिक नाच आज सम्पन्न हुँदै

पाटन । पाटनको मणिगलमा आयोजित ‘कात्तिक डबली’ मा आज (बुधबार) नृसिंह अवतार–हिरयण्यकश्यपु वध सम्बन्धी नृत्य प्रस्तुत गरिँदैछ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार आज साँझ सो नृृत्य प्रदर्शन गरिने भएको हो ।
भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जनाएका छन् । नृसिंह नृत्य प्रर्दशन गर्दै यो वर्षको आठदिने कार्यक्रम समापन गर्ने आयोजकले जनाएको छ । नृसिंह नाचले अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने सन्देश दिने अध्यक्ष चित्रकारले बताएका छन् ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण होस् भन्ने उद्देश्यले सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हट्दै शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ ।
कात्तिक महिनाभरि विभिन्न प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भन्ने गरिन्छ । सत्ताइस दिनसम्म हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित नाच प्रर्दशन गर्ने गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया