बुधबार, जेठ १, २०८२

बोर्डले भन्यो – मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही हुन्छ

नेपालखोज २०७८ मंसिर १ गते १४:१४

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने बताएका छन् । अध्यक्ष हुमागाँईले सूचना प्रकाशित गरिसके पछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुन बमोजिम कारबाही गरिने बताए ।

संचारकर्मीसँगको कुराकानीमा उनले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए । अध्यक्ष हुमागाँईले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताए ।

यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए ।

संचारकर्मीसँगको कुराकानीमा उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए । अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्न माग गरे ।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए । उनले कानुनमा भएको कुरालाई हुबहु लागु गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने बताउँदै भएको कानुनलाई लागु गराउनु पर्ने बताए । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरुमा मदिरा लगायत कुनै चिजहरुको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए ।

प्रतिक्रिया