प्रधानन्यायाधीशले बर्हिगमनको बाटो नलिए सर्वोच्च प्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्छौ

काठमाडौं । वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले न्यायाधीशहरुले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गरेमा आफुहरुले बेञ्च बहिष्कार गर्ने बताएका छन् । बिहीवार नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा धर्ना पछि बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले गोलाप्रथाको नाममा प्रधानन्यायाधीश बेञ्चमा बसे बार एसोसिएसनको आपत्ति रहने बताए ।
उनले प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले बेञ्च सेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने स्पष्ट पारे । उनले प्रधानन्यायाधीशलाई वैधता दिने काममा आफुहरुले स्वीकार नगर्ने बताए ।
वरिष्ठ अधिवक्ता शाक्यले न्यायाधीशहरु र कानुन व्यवसायीहरुले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको बताए । उनले प्रधानन्यायाधीशलाई डुब्दै गरेको घामको संज्ञा दिए । त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीशको सम्मानजनक बर्हिगमन भनेको राजीनामा भएको उल्लेख गरे ।
प्रधानन्यायाधीशले बर्हिगमनको बाटो नलिएमा सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक गेट पनि बन्द गर्ने उनले चेतावनी दिए । सर्वोच्च अदालत परिसरमा प्रहरी भित्राएर कानुन व्यवसायीहरु माथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै उनले प्रहरीको आक्रमण तत्काल बन्दगर्न गृहमन्त्रीलाई आग्रह गरे ।
अधिवक्ता ओम प्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनी दिए । यो मुद्दा संयुक्त राष्ट्रसंघका निकायमा लैजाने उनको भनाई छ ।
नेपाल बार एसोसिएसनले शुक्रवार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, कपिल पोखरेल, निकेश श्रेष्ठ, युवराज बञ्जाडे, रोमन कर्ण, ऋषिराम घिमिरे, गोपाल सापकोटालगायत घाइते भएको बारले जनाएको छ ।
धर्नाका क्रममा कानुन व्यवसायीहरुले बिचौलियालाई कारबाही गर, दंगा प्रहरी फिर्ता गर, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, बिचौलियाको अन्त्य गरलगायतका नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया