सातै प्रदेशमा रेबिज इम्युनो ग्लोबुलिन सेवा सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ । इम्युनो ग्लोबुलिन सुइको माध्यमबाट घाउको वरिपरि लगाइने औषधि हो ।
प्रदेश नं १ को कोसी अस्पताल, प्रदेश नं २ को जनकपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको बुटवलस्थित लुम्बिनी अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट सेवा प्रवाह गरिने छ ।
काठमाडौंमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य संगठनको रणनीतिअनुसार सन् २०३० सम्ममा यस रोगबाट विश्वमै मानव मृत्यु शून्यमा झार्ने लक्ष्यका साथ मन्त्रालयले अगाडि बढेको बताए ।
मन्त्री खतिवडाले रेबिज लागेमा यसको कुनै औषधि नभएको बताउँदै शंकास्पद संक्रमित जनावरले टोकेमा तत्काल एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्नेमा जोड दिए । उनले आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यका आधारमा सबै जिल्लामा यस सेवालाई विस्तार गरिने जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी शाखाका डा कृष्णप्रसाद पौडेल र स्वास्थ्य सेवा विभागका निर्देशक दीपेन्द्ररमण सिंहले मुलुकमा रेविज रोगको अवस्थाबारे जानकारी दिए । प्रत्येक वर्ष १५ देखि ३६ जनासम्म रेविजका कारण मानिसको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया