शनिबार, जेठ ५, २०८१

भेन्टिलेटर र आईसीयूमा पुगेका संक्रमितमध्ये कति प्रतिशत निको हुन्छन् ?

प्रनिशा अधिकारी २०७८ जेठ २३ गते १९:५३

काठमाडौं । कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचारत संक्रमितमध्ये २० देखि ३० प्रतिशतको मृत्यु हुने गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीका अनुसार भेन्टिलेटरमा उपचाररत संक्रमितमध्ये २० देखि ३० प्रतिशतको मृत्यु हुने गरेको हो ।

‘भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितमध्ये ६० देखि ७० प्रतिशतको उपचारपश्चात् निको हुने गरेको छ भने २० देखि ३० प्रतिशतको मृत्यु हुन्छ,’ निर्देशक राजभण्डारी नेपालखोजसँग भन्छन्, ‘आईसीयूमा उपचाररत संक्रमित भने अधिकांश निको हुन्छन् ।’ जति धेरै संक्रमितले समयमै पर्याप्त उपचार हुन्छ त्यति नै निको हुने दर पनि बढ्ने उनी बताउँछन् ।

‘संक्रमितको उमेर, दीर्घरोगी अथवा उसमा अन्य रोग छ कि छैन, उपचार कस्तो भइरहेको छ भन्ने कुराले पनि संक्रमित निको हुने/नहुने निर्धारण गर्छ,’ उनको भनाइ छ । संक्रमित भेन्टिलेटरमा जति धेरै समय रह्यो त्यति नै निको हुने दर कम छ भन्ने बुझ्नुपर्ने निर्देशक राजभण्डारी बताउँछन् ।

आईसीयू र भेन्टिलेटरमा पुगेका संक्रमित निको हुँदैनन् भन्ने आमधारणा भए पनि त्यो गलत रहेको उनको भनाइ छ ।

आईसीयू र भेन्टिलेटरमा संक्रमित पुगिसकेपछि राम्रो हेरचाह तथा अक्सिनजको मात्रा मिल्यो कि मिलेन अथवा कस्तो उपचार भइरहेको छ भन्ने कुराले संक्रमित निको हुने वा नहुने निर्धारण गर्ने उनी बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना संक्रमितको संख्या कम हुँदै गएकाले अक्सिजनको अभाव पहिलाको जस्तो नरहेको बताउँछ । ‘यद्यपि देशभर अक्सिजनको अभाव हुँदा पनि टेकु अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएकाले हामीले जसोतसो व्यवस्थापन गरेको थियौं,’ डा. पुन भन्छन्, ‘अहिले त संक्रमितको संख्या घट्न थालेकाले अक्सिजनको अभाव छैन ।’

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ जना रहेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ५१४ रहेका छन् भने होम आइसोलेसनमा ८२ हजार ७०३ छन् ।

भेन्टिलेटर र आईसीयूमा कति उपचाररत छन् ?
हाल नेपालमा आईसीयूमा एक हजार ४४२ र भेन्टिलेटरमा ३८१ संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये भेन्टिलेटरमा प्रदेश १ मा ४५ जना, प्रदेश २ मा २१ जना, वाग्मती प्रदेशमा २५८ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा १७ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी ३८१ जना उपचाररत रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै प्रदेश १ मा २०१ जना, प्रदेश २ मा ९२ जना, वाग्मती प्रदेशमा ७९४ जना, गण्डकी प्रदेशमा १३८ जना, लुम्बिनी प्रदेहमा १४७ जना, कर्णाली प्रदेशमा ३९ जना तथा सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी एक हजार ४४२ जना आईसीयूमा उपचाररत संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्ला केही साता यता भेन्टिलेटर र आईसीयूमा कोरोना संक्रमितको संख्या पनि कम हुँदै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ । दोस्रो लहरको कोरोना संक्रमण ‘पिक’मा पुगेको समयमा देशका अधिकांश अस्पतालमा अक्सिजनको अभाव भएको थियो । अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाउनुपरेको थियो । अहिले भने अक्सिजन तथा अक्सिजन सिलिन्डरको अभाव नरहेको स्वास्थ्य मन्त्रालयले दाबी गर्दै आएको छ ।

नेपालमा हालसम्म सात हजार ८९८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया