२०२१ का प्रभावशाली को ? (नामसहित)

काठमाडौं । टाइम म्यागजिनले वर्ष २०२१ का सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ । टाइमले यसपटक यो सूचीलाई ६ श्रेणीमा विभाजन गरेको छ । ती श्रेणीमा नेता, कलाकार, पायोनियर, आइकन, टाइटन तथा इनोभेटर्स समेटिएका छन् ।
टाइमको कभरमा प्रिन्स ह्रारी तथा उनकी श्रीमती मेगन मार्कलको तस्बिर राखिएको छ । ब्रिटेनकी महारानी एलिजाबेथका नाति प्रिन्स ह्रारी तथा उनकी श्रीमती मेगनले यो वर्ष दिएको एक अन्तर्वार्ता पछि बेलायतको शाही परिवार निकै चर्चामा आएको थियो ।
टाइमको प्रभावशाली व्यक्तिहरुको सूचीमा एप्पलका सीईओ टिम कुक तथा इलेक्ट्रिक गाडी बनाउने अनि पर्यावरण-अनुकूल ऊर्जामा काम गर्ने कम्पनी टेस्लाका सीईओ एलन मस्कको नाम पनि छ ।
डोनाल्ड ट्रम्प र अमेरिकी राष्ट्रपति जो बाइडेन दुवै प्रभावशाली नेताहरुको यो सूचीमा अटाएका छन् । नेपालका दुई छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि २०२१ का प्रभावशाली व्यक्तित्व मानिएका छन् ।
प्रभावशाली एक सय व्यक्तिको सूचीमा भारतीय मूलकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पनि नाम छ ।
रूसका राष्ट्रपति भ्यादिमिर पुटिनका प्रखर आलोचक अलेक्सी नवाल्नीलाई पनि टाइमले यो सूचीमा समावेश गरेको छ । ४४ वर्षका नवाल्नीले बितेको एक दशकदेखि आफ्नो युट्युब च्यानलमार्फत रूसी सरकारको भ्रष्टाचारको पोल खोलिरहेका छन् ।
तालिबानका सह-संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई पनि टाइमको २०२१ का १०० प्रभावशाली व्यक्तिको सूचीमा स्थान दिइएको छ । दोहास्थित तालिबानको राजनीतिक कार्यालयका प्रमुख मुल्ला बरादरलाई तालिबान र अमेरिकाबीच दोहा सम्झौता गराएको श्रेय दिइएको छ ।
टाइम म्यागजिनको यो सूचीमा सिरम इन्स्टिच्युटका सीईओ अदार पुनावाला पनि छन् जसको औषधि उद्योगले भारतमा ठूलो मात्रामा कोरोनाविरुद्धको खोप निर्माण गरिरहेको छ ।
यही सूचीमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी पनि अटाएकी छन् जसलाई ‘भारतीय राजनीतिमा उग्रताको बिम्ब’ बताइएको छ ।
प्रतिक्रिया