बुधबार, जेठ १, २०८२

घरजग्गा मूल्य सर्वेक्षणसम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपालखोज २०७८ मंसिर ३ गते १८:०८

काठमाडौं । राष्ट्र बैंकले घरजग्गाको मूल्य सर्वेक्षण सम्बन्धि प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार घरजग्गाको मूल्य सर्वेक्षण सम्वन्धी प्रतिवेदन सार्वजनिक गर्दै बैंकले घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकुल प्रभाव पार्न सक्ने सम्भावना भएकाले यस क्षेत्रको मूल्य स्थिति सम्बन्धमा जानकारी राख्नु पर्ने जनाएको छ ।

यसका लागि घरजग्गा क्षेत्रको मूल्य सूचकांक निर्माण गरी घरजग्गा मुद्रास्फीति मापन कार्य आवश्यक रहेको राष्ट्र बैंकको भनाई छ । मौद्रिक नीतिका प्रमुख उद्देश्य मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको लागिसमेत घरजग्गा मूल्य सूचकांक महत्वपूर्ण रहेको छ ।

घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको छ । यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकांक त्रयमासिक रूपमा नियमित प्रकाशन गर्न लागिएको राष्ट्र बैकको भनाई छ । राष्ट्र बैकका अनुसार घरजग्गा मूल्यको तथ्यांक २० वटा जिल्लाका मालपोत कार्यालय र “क” वर्गका ६ वटा वाणिज्य बैंकहरूबाट लिने गरी सर्वेक्षण सम्पन्न गरिएको छ ।

तथ्यांकका स्रोतबाट नमुनाहरू छनोट गर्दा धेरै नमुनाको प्रति वर्गमिटर मूल्य एउटै आउने अवस्थामा सरकारले तोकेको न्यूनतम मूल्यमा धेरैजसो कारोबार हुने गरेको देखिएकोले त्यस्ता प्रति इकाई सममूल्य भएका नमूनामध्येबाट तुलनात्मक रूपमा थोरै पर्ने गरी नमूना छनोट गर्दा सूचकांक थप विश्वसनिय हुने ठहर पनि राष्ट्र बैंकले गरेको छ ।

सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–०७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६ दशमलव ४५ प्रतिशत रहेको थियो, भने मालपोत कार्यलयहरूबाट प्राप्त तथ्यांकको यस्तो मुद्रास्फीति १९ दशसलव ७३ प्रतिशत रहेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७–०७८ को प्रथम नौ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६ दमशलव ३१ प्रतिशत र १२ दशमलव ५७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७–०७८ को प्रथम नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकोले मुद्रास्फीति केही कम रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण कार्य सम्पन्न गरिएको हुँदा अन्य देशले जस्तो जग्गाको लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासीयजस्ता चरहरूलाई सूचकाङ्कमा समावेश गर्न सकिएको छैन् ।

घरजग्गाको बढी कारोबार हुने स्थानहरू छिटोछिटो परिवर्तन हुने भएकोले अद्यावधिक मूल्य सर्वेक्षण कार्य पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ । सर्वेक्षणको अन्तराल लामो भएमा एकातर्फ सूचकांकलाई चाहिने तथ्यांकको मात्रा अपुग भई सही सूचकांक नआउन सक्ने जोखिम हुन्छ, भने अर्कोतर्फ लोकेशन, आकार, मुख्य सडकसम्मको पहुँच, बाटोको साइज, मोहडा, व्यापारिक तथा आवासिय जस्ता चरहरूलाई समायोजन गर्न ढिलो हुने देखिएको समेत राष्ट्र बैंकको भनाई छ ।

घरजग्गाको मूल्य सूचकांकले सहरी क्षेत्रलाई मात्र समेटेको छ । यसले समग्र घर जग्गाको कारोबारको मूल्यलाई प्रतिनिधित्व नगर्न सक्छ । आउने दिनमा अनुभवका आधारमा घरजग्गा मूल्य सूचकांकको दायरा फराकिलो पार्दै र विधिहरू परिमार्जित गर्दै जानुपर्ने आवश्यकता राष्ट्र बैकले भनेको छ ।

प्रतिक्रिया