नेपालको प्राथमिकता : स्थायी शान्ति, राजनीतिक स्थायित्वसहितको आर्थिक रुपान्तरण

नेपालखोज २०७८ मंसिर ३ गते २३:१५

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको आर्थिक, सामाजिक रुपान्तरण, समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ग्लोवल युथ लिडरशीप समिट २०२१ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको अबको प्राथमिकता स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्वसहतिको प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु भएको बताएका हुन् ।

उनले नेपालको प्राकृतिक सौन्दर्यता पर्यटकहरुलाई देखाउन चाहेको भन्दै र विभिन्न धर्मावलम्बीहरुका आस्थाका केन्द्रहरुलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न खोजिरहेको बताए । उपराष्ट्रपति पुनले सरकार देशभित्रका नदीनालाबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्दै औद्योगिक विकासमार्फत् युवाहरुका लागि रोजगारी सिर्जना गर्न खोजिरहेको बताए । उनले युवाका साझा समस्यालाई साझ ढंगले नै समाधान गर्नुपर्ने बताए ।

उपराष्ट्रपति पुनले भोलिको विश्व, मानव जातीका आगामी दिन र देशको विकास कसरी गर्ने र हुने भन्ने बारे युवाहरुले जिम्मेवारी लिनुपर्ने बताए । उनले मानव जातीमा सकारात्मक सन्देश प्रवाह गर्ने जिम्मेवारी युवाहरुकै काँधमा रहेको बताउँदै जलवायु परिवर्तको असरलाई न्यूनिकरण कसरी गर्ने र विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वको व्यवस्थापन कसरी गर्ने ? भोकमरी र गरिबीले आक्रान्त मानिसलाई के गर्ने ? विज्ञान र प्रविधिको विकासलाई कसरी नयाँ उचाईमा उठाउने भन्ने जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले मानव जातीको कल्याण र सभ्य तथा आदर्श समाज निर्माणका लागि उत्कृष्ट योगदान दिन युवाहरु लगि पर्ने विश्वास लिएको बताए । मानव जातीलाई नयाँ आशा दिलाउने, नयाँ उत्साह पैदा गर्ने, नयाँ नयाँ खोज, आविष्कार गर्ने तथा इतिहासका हरेक परिवर्तनको नेतृत्व गर्ने युवाहरु नै भएको बताउँदै उनले युवाहरुको जोश, सुजबुझ र नेतृत्वबाट मात्रै इतिहासका हरेक परिवर्तन सम्भव भएको बताए ।

प्रतिक्रिया