जाडोमा निमोनियाँ, बेवास्ता गरे ज्यानै जान सक्छ !

निमोनियाँका कारण बर्सेनि लाखौं बालबालिकाको मृत्यु हुने गर्छ । बुढाबुढी, कमजोर र रोगीहरूका निम्तीसमेत निमोनियाँ निकै जोखिमपूर्ण मानिन्छ । जाडोको मौसममा, धुँवाधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनियाँ हुने खतरा हुन्छ । कतिपय अवस्थामा नियमोनियाँले ज्यान लान सक्छ । झन कोरोना भाइरस रोगको महामारी फैलिएको यस परिपेक्षमा कोभिड निमोनियाँ फैलिने खतरा उतिकै छ।
बर्सेनि लाखौंको मृत्यु
निमोनियाँबाट बर्सेनि लाखौंको मृत्यु हुन्छ । त्यसमा धेरैजसो पाँच बर्षभन्दा कम उमेरका हुन्छन् । साथै ६० वा सोभन्दा बढी उमेरका बुढाबुढी यही रोगको कारण मर्ने गरेका छन् ।अमेरिका जस्तो विकसित देशमा पनि वार्षिक ५० हजारको ज्यान लिइरहेको यो रोगबाट हाम्रो देशमा वार्षिक कति जनाको मृत्यु हुन्छ ठोस तथ्यांक छैन । यद्यपी निमोनियाँको कारण बर्सेनि हजारौंको मृत्यु हुने कुरामा शंका छैन ।
विश्वको परिपेक्षमा निमोनियाँ रोगबाट वार्षिक ४५ करोड मानिसहरू संक्रमित हुने गरेका छन् । संक्रमित हुने मध्येका ४० लाख व्यक्तिहरू यही रोगको कारण ज्यान गुमाउन बाध्य छन् ।
के हो निमोनियाँ
फोक्सोको तन्तुहरू संक्रमितभई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनियाँ भनिन्छ । निमोनियाँको संक्रमण जाडो मौसममा बढी हुने गर्छ । समयमै पहिचान गरेर यथोचित उपचार हुन नसके ज्यानै पनि जान सक्छ । फोक्सोको तन्तुहरूमा ब्याक्टेरिया, भाइरस, फङ्गस वा परिजिविहरूले आक्रमण गर्दा फोक्सो संक्रमित भई देखा परेको प्रदाहत्मक रोगलाई चिकित्सकीय भाषामा निमोनियाँ भनिन्छ । अधिकांश स्थितिमा निमोनियाँ हुदाँ फोक्सोको क्रियात्मक इकाई आल्वियोलाइ (फोक्सोको तन्तु र रक्तकेसिका बिच प्राण वायुको आदान प्रदानहुने थैली) संक्रमित हुने गर्दछ ।
स्वस्थ्य अवस्थामा हावा भरिएका यी आल्वियोलाइहरू संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनियाँ फोक्सोको अधिकांश हिस्सामा फैलिएर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।
किन हुन्छ ?
निमोनियाँको मुख्य कारण भनेको व्याक्टेरिया, भाइरस, ढुसी, माइकोप्लास्म वा परजीविहरुको संक्रमण हो । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधीहरूको एलर्जीका कारणले पनि निमोनियाँ हुनसक्छ ।
कुन अवस्थामा बढी जोखिम ?
१) जाडो र वर्षा मौसममा
२) धुवा, धुलो फोहोरमैला र प्रदूषित वातावरण
३) दाउरा, गुइठा जस्ता बायोमास जलाइने नेपाली चुलो
४) धुम्रपान र मध्यपान
५) दम, पुरानो खोकी र क्यान्सर जस्ता फोक्सोको रोग
६) कमजोर प्रतिरक्षा प्रणाली
७) मृगौला एवं कलेजोको गम्भिर रोगहरू
८) ठेउला दादुरा र लहरे खोकी जस्ता रोगको प्रकोप
९) टीबी, एचआईभी, एड्स, मधुमेह, क्यान्सर र मुटुको रोग
१०) ग्याष्ट्रिकको औषधीको दीर्घकालिन सेवन
११) ५ वर्षभन्दा मुनि र ६० वर्ष भन्दा माथिको उमेर
कसरी थाहा पाउने ?
निमोनियाँ हुँदा तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिलेकाही खकारमा रगत पनि देखिने गर्छ । फोक्सोको संक्रमण भएकाले श्वास प्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदय गती बढ्ने आदि लक्ष्ण पनि देखा पर्दछ । यी लक्षणका साथै थकान महसुस हुने, जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने र मानसिक क्षमता घट्ने र होस हराउने जस्ता लक्षण पनि देखापर्छ ।
निमोनियाँको वर्गीकरण
निमोनियाँलाई वर्गीकरण गर्ने आधारहरू धेरै छन् । संक्रमण गर्ने किटाणुहरुको आधारमा निमोनियाँको वर्गीकरण
– व्याक्टेरियाले हुने निमोनियाँ
– भाइरसले हुने निमोनियाँ
– ढुसीले हुने निमोनियाँ
– माइकोप्लास्मले हुने निमोनियाँ
– परजीविले हुने निमोनियाँ
निमोनियाँ सल्किने स्थानको आधारमा वर्गीकरण
अस्पतालबाट फैलने निमोनियाँ : यो निमोनियाँ अस्पतालमा भर्ना भएका विरामी वा उसले प्रयोग गरेको व्यक्तिगत वा चिकित्सकीय सामाग्री प्रयोग गर्दा सर्दछ ।
समुदायबाट फैलने : निमोनियाँ समुदायबाट सल्किने निमोनियाँ भन्नाले अस्पतालभन्दा बाहिरको वातावरणमा भएका किटाणुहरुको संक्रमणले गर्दा लाग्ने निमोनियाँ हो ।
निमोनियाँ सल्किने तरिकाको आधारमा पनि निमोनियाँलाई दुई समूहमा वर्गिकृत गरिएको छ ।
एस्पिरेसन निमोनियाँ : थुक खकार निल्दा वा खानेकुरा र पेय पदार्थ सर्किएर फोक्सो तिर पस्दा हुने निमोनियाँलाई एस्पिरेसन निमोनियाँभनिन्छ ।
भेन्टिलेटर जनित निमोनियाँ: भेन्टिलटर प्रयोग गर्दा सल्किने निमोनियाँलाई भेन्टिलेटर जनित निमोनियाँ भनिन्छ ।
निमोनियाँले फोक्सोमा पारेको प्रभावको आधारमा
लोवार निमोनियाँ
ब्रोंको निमोनियाँ
इन्ट्रस्टेसियल निमोनियाँ
फोक्सोमा पारेको प्रभावको आधारमा निमोनियाँलाई तीन समुहमा वर्गिकृत गरिएको छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया