बिहीबार, वैशाख ६, २०८१

काठमाडौंमा हस्तकला व्यापार मेला

विकास र सरंक्षणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

नेपालखोज २०७८ मंसिर ४ गते ७:०९

काठमाडौं । १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको बौद्धस्थित होटल हायात् रिजेन्सीमा मंसिर ३ देखि ५ गतेसम्म्म चल्ने मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसलाई विश्वबजारीकरणमा जोड दिनुपर्ने बताए । हस्तकला विकास र सरंक्षणका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले औंल्याए । हस्तकलामा कोरिएका चित्रहरू, मूर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकाले हस्तकलालाई संरक्षण गर्दे पुस्तान्तरण गर्न व्यवसायीलाई देउवाले आग्रहसमेत गरे ।

सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार रहेको बताउँदै देउवाले आवश्यक ऐन तथा नीतिबनाएर अगाडि बढ्न सहयोग गर्ने बताए । ‘मेलाको अवलोकन गर्दा अति सुन्दर मूर्ति, कला, मिहिनेत देख्दा म खुसी छु । हाम्रो पहिचान कायम राख्न धेरै कालीगढहरूले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मूर्ति, फेसन, विभिन्न कलाकृतिका सामाग्रीहरूले मेला अत्यन्त सुन्दर बनाएको छ,’ उनले भने, ‘यो नै देशको पहिचान हो । यसको जगेर्नामा सरकार प्रतिबद्ध छ ।’ प्रधानमन्त्री देउवाले हस्तकलाको विकास गर्न कागजी, धातुका साथै पोसाकी प्रयोगका सामग्रीहरू निर्माणसँगै विश्वबजारीकरण आजको आवश्यकतामा जोड दिए ।

यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताउँदै देशको अर्थतन्त्रमा हस्तकलाको करिब सात अर्बको व्यापार गरेको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सिर्जनाका साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताए । मेलामा विभिन्न हस्तकलाका विधाका १२० भन्दा बढी स्टल छन् । मेलामा झन्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया