नमोबुद्ध मेलामा बौद्ध धर्मावलम्बीको घुइँचोे

काभ्रे । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेको रमणीय स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।
किंवदन्तीअनुसार द्वापर युगका राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । बिहीबारदेखि लागेको मेलामा आज (शनिबार) बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएराति अबेरसम्म नमोबुद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गरिएको थियो ।
कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबुद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्षसम्म औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बाल्ने गरिन्छ ।
विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरुले मेला भर्ने नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताएका छन् । उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जंगल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकाएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी नयाँ जीवन प्राप्त गरेको जनविश्वास छ । सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।
मेलामा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ, नुवाकोटलगायत ठाउँबाट मानिसहरूको सहभागिता भएको छ । नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ । काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा पर्छ ।
यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । ‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ । यस पर्वतबाट ऐतिहासिक पनौतीलगायतका हरियाली बस्ती तथा पूर्व–उत्तरतर्फका हिम शृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया