बुधबार, जेठ १, २०८२

प्रकृति र संस्कृति एक-अर्काका परिपूरक : राष्ट्रपति

नेपालखोज २०७८ मंसिर ४ गते १५:१४
फाइल फोटो

काठमाडौं । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको पुनःनिर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । स्वयम्भूमा आज आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त भजन खलःको उद्घाटन गरेकी छन् ।

विसं १९९४ मा निर्माण गरिएको उक्त खलःमा स्थापनाकालदेखि नै भजनकीर्तन हुँदै आएको छ । ज्ञानमाला भजनमार्फत भगवान गौतम बुद्धले दिएका उपदेशलाई नागरिकका माझबाट पुर्‍याइँदै आइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले ज्ञानमाला भजन खलःले ऐतिहासिक विरासत बोकेको र त्यसले समाजलाई जागृत गर्दै आएको बताइन् । उनले ज्ञानमाला भजन खल स्थापनाको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवर्द्धक भगवान बुद्धको शाश्वत उपदेशको प्रवर्द्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा सांस्कृतिक जागरण ल्याएर महिला हकहितका पक्षमा गोलबन्द गर्नु रहेको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृति एक-अर्काका परिपूरक भएको उल्लेख गर्दै जनताका आस्थाका रुपमा रहेका मौलिक सांस्कृतिक धरोहरको प्रवर्द्धन गर्न र त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्न आवश्यक रहेको बताइन् ।

उनले ऐतिहासिक पुरातात्त्विक सम्पदाका रुपमा रहेको भजन खलःको पुनःनिर्माणमा सहयोग पुर्‍याउने नेपाल सरकारलगायत सबैलाई धन्यवाद दिइन् । काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय कला, भाषा, संस्कृतिको संरक्षणमा महानगरपालिकाले सहयोग गर्दै आएको बताए । सो अवसरमा राष्ट्रपति भण्डारीले भजन खलः पुनःनिर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिन् ।

प्रतिक्रिया