बुधबार, जेठ १, २०८२

‘द्वन्द्वका कारण उत्पन्न पुराना घाउमा मल्हमपट्टी गर्दै यस्ता घटना नदोहोर्‍याउने सुनिश्चित गर्न बाँकी छ’

नेपालखोज २०७८ मंसिर ५ गते ११:५१

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वका कारण उत्पन्न पुराना घाउहरूमा मल्हमपट्टी गर्दै द्वन्द्वका ठोस कारणको खोजी गरी द्वन्द्व नदोहोरिने अवस्था सुनिश्चित गर्नुपर्ने कार्यभार पूरा हुन बाँकी रहेकाे बताएका छन् ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै परिवर्तनको सपनालाई साकार तुल्याउन अनेक आन्दोलनमा सहभागी हुँदा आफन्त र प्रियजन गुमाउने परिवार, घाइते तथा यातना भोग्न बाध्य बनाइएका योद्धाहरूको योगदानको स्मरण गर्दै आफ्नो पार्टीका तर्फबाट श्रद्धा र सम्मान प्रकट गरेकाे बताएका छन् ।

उनले आफू र आफ्नो पाटी सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाबाट समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा रहेको बताएका छन् ।

‘विक्रम सम्बत् २०५२ सालदेखि एक दशकसम्म हाम्रो मुलुकले तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको हिंसात्मक संघर्ष र त्यसपछि सिर्जित सशस्त्र द्वन्द्वको सामना गर्नु पर्‍यो’ उनले भनेका छन्, ‘परिवर्तनको सपनालाई साकार तुल्याउन अनेक आन्दोलनमा सहभागी हुँदा आफन्त र प्रियजन गुमाउने परिवार, घाइते तथा यातना भोग्न बाध्य बनाइएका योद्धाहरूको योगदानको स्मरण गर्दै हाम्रो पार्टी नेकपा एमालेका तर्फबाट श्रद्धा र सम्मान प्रकट गर्दछु ।’

प्रतिक्रिया