मंगलबार, वैशाख १६, २०८२

स्वाप रेसियोमा कुरा नमिल्दा मर्जरमा ढिलाइ

ठूलो निर्जीवन बिमा बन्ने दौडमा सगरमाथा इन्स्योरेन्स

नेपालखोज २०७८ मंसिर ५ गते ११:५४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी निर्जीवन बिमा कम्पनीहरूमध्येमा सबैभन्दा ठूलो बन्ने कसरतमा जुटेको छ । कम्पनीले हिमालयन जनरल इन्स्योरेन्स कम्पनी समेतलाई आफूमा गाभेर ठूलो बन्न तयारी थालेको हो ।

मर्जरका लागि यी दुवै कम्पनीका सञ्चालकहरूले २०७८ साउनमा मौखिक सहमति गरेका थिए । सोहीअनुसार दुवै कम्पनीले मर्जरको प्रक्रिया अगाडि बढाएका थिए । तर अहिले भने केही समयका लागि यी दुई कम्पनीबीचको मर्जर प्रक्रिया रोकिएको छ । स्रोतका अनुसार मर्जर प्रक्रिया रोकिनुको मूल कारण भने सेयरको स्वाप रेसियो कायम गर्ने विषयमा भएको दुवै संस्थाका सञ्चालकहरूबीचको विवाद हो । ‘सुरुमा मर्जरका लागि १००:८० कित्ता अर्थात् हिमालयन जनरलको एक सय कित्ता सेयरबराबर सगरमाथा इन्स्योरेन्स कम्पनीको ८० कित्ता सेयर कायम हुने सहमति भएको थियो । तर अहिले उक्त सहमतिमा हिमालयन जनरलका केही सञ्चालकले बिमति जनाएका छन् । उनीहरूले हिमालयन जनरलको ९० कित्ता सेयरबराबर सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर हुनुपर्ने माग राखेका छन् । सोही कारण यी दुई कम्पनीबीचको मर्जर प्रक्रिया केही समयका लागि अवरुद्ध भएको हो,’ स्रोतले भनेको छ ।

स्रोतका अनुसार मर्जर प्रक्रिया केही समयका लागि अवरुद्ध भए पनि यी दुई कम्पनी जसरी पनि मर्ज भई निर्जीवन बिमा कम्पनीहरूमा नेपालकै ठूलो कम्पनी बन्ने तयारीमा छन् । अहिले अर्थात् चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १० करोड तीन लाख ३७ हजार रुपैयाँ पुगेको छ । यदि यी दुई कम्पनी मर्जर भए नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी दुई अर्ब २१ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । यो भनेको चुक्ता पुँजीको हिसाबमा निर्जीवन बिमा कम्पनीहरूमध्येकै सबैभन्दा ठूलो हो ।

अहिले सगरमाथा इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्ष पदमा रामकृष्ण मानन्धर छन् भने व्यवस्थापन प्रमुखका रुपमा चंकी क्षेत्री छन् । यसैगरी हिमालयन जनरल इन्स्योरेन्समा भने सञ्चालक समितिको अध्यक्ष पदमा महेन्द्रकृष्ण श्रेष्ठ छन् भने व्यवस्थापन प्रमुखमा सुशील वज्राचार्य छन् ।

प्रतिक्रिया