बुधबार, जेठ १, २०८२

प्रधानमन्त्रीले बाह्य लगानीमा संचालित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गर्नु कानुनविपरीत

नेपालखोज २०७८ मंसिर ५ गते १६:०९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे । आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।

गत मंसिर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेका ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दाबी छ । उनले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिए ।

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए । प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताए । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उनको भनाई थियो ।

प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराए ।

प्रतिक्रिया