बिहीबार, वैशाख ६, २०८१

३ महिनाको सेयर कारोबारको अवस्था !

नेपालखोज २०७८ मंसिर ७ गते १७:५८

काठमाडाैं । चालु आर्थिक वर्ष ०७८/७९को पहिलो तीन महिनाको अवधिमा नेपाली सेयर बजार मापक नेप्से परिसूचक र पुँजीकरण सकारात्मक रहेको छ । आर्थिक वर्षको सुरुवातदेखि सेयर बजारमा निकै ठूलो उतार-चढाव आइरहेको छ ।

धितोपत्र बोर्डको ५१ कम्पनीको नाम सार्वजनिक काण्डका कारण बजार खस्किएको थियो । उक्त काण्डबाट सेयर बजार लयमा आउन नपाउँदै मौद्रिक नीतिले सेयर बजारमा ल्याएको नयाँ नियमनका कारण बजार प्रभावित हुदै आएको छ । तर विविध कारणले बजार प्रभावित भए पनि गत वर्षको तुलनामा बजार सकारात्मक रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ ।

पछिल्लो एक वर्षदेखि नेपाली सेयर बजारमा लगानीकर्ताकाे आकर्षण बढ्दै गएको छ । लगानीकर्ता बढ्दै जाँदा सेयर बजारले नयाँ रेकर्डसमेत राख्न सफल भएको छ ।

तर, चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जामा ४ करोड देखि १२ करोड सीमा तोकेसँगै सेयर बजार ओरालो लागिरहेको छ ।

चार महिनादेखि सेयर बजार ओरालो लागे पनि अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमास र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक तुलना गर्दा नेप्से परिसूचक र पुँजीकरण सकारात्मक देखिनु पुँजीबजारको लागि राम्रो पक्ष हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितोकर्जामा लगाएको सिमामा लचकता अपनाएमा पुन: सेयर बजार गति लिने अपेक्षा रहेको छ ।

त्यस्तै, पछिल्लो एक साताको सेयर बजार कारोबारमा नेप्से परिसूचक र लगानीकर्ताको सम्पत्तिमा समेत वृद्धि भएको छ । सेयर बजारमा ८० अंक र लगानीकर्ताको सम्पत्ति एक खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

आइतबारदेखि बिहीबार (कात्तिक २८ देखि मंसिर २ सम्म) भएको सेयर कारोबारमा आइतबार २ हजार ६८८.९२ अंक रहेकामा सातको अन्तिम कारोबार दिन बिहीबारसम्ममा बजार ८०.२१ अंकले बढेर २७६९.१३ अंकमा पुगेर कारोबार बन्द भएको थियो ।

सातामा ५ दिनको सेयर कारोबारमा तीन दिन नेप्से बढ्दा बिहीबार भने ३२.३९ अंकले गिरावट आएको थियो । आइतबारको तुलनामा बिहीबारसम्म आइपुग्दा लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको नेप्से बजारपुँजीकरण बिहीबारसम्ममा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो । तर, बिहीबार बजार दोहोरो अंकले गिरावट हुँदा बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजारपुँजीकरण घटेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन अर्ब ५६ करोडबराबरको सर्वसाधारणका लागि जारी गरीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार ३ अर्ब ५६ करोडको आईपीओ नेप्सेमा सूचिकृत हुँदा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ सेयर (डिबेन्चर) थपिएको छ ।

उक्त प्रतिवेदनअनुसार तीन महिनाको अवधिमा एक अर्ब २८ करोड बराबरको बोनस सेयर र एक अर्ब २३ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएको छ । त्यस्तै, ३३ अर्ब तीन करोडबराबरको डिबेन्चर र २ अर्ब ५० करोडबराबरको म्युचुअल फन्डसमेत सूचीकृत भएको छ ।

असोजसम्ममा सूचीकृत पाँच अर्ब ९१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ८१ अर्ब २६ करोड रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना असोजसम्ममा नेप्सेमा २२२ वटा कम्पनीहरू सूचीकृत भएका छन् ।

जसमा १४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । उत्पादन तथा प्रशोधन उद्योग १९, जलविद्युत् कम्पनी ४१, ४ व्यापारिक संस्था , पाँच होटल, पाँच लगानी कम्पनी र तीन अन्य समूहका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई सय ९ वटा मात्रै कम्पनी सूचीकृत थिए । सूचीकृत कम्पनीहरूमध्ये नेप्सेमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको पुँजीकरणको बजार हिस्सा ७०.७ प्रतिशत छ ।

त्यस्तै, जलविद्युत्‌को ८.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ७.६ प्रतिशत रहेको पुगेको छ । चालु आर्थिक वर्षको असोज मसान्तमा नेप्से परिसूचक २ हजार ६५७.० पुगेको छ । तर, अघिल्लो वर्षको असोज मसान्तमा नेप्से १ हजार ५६२.५ मात्रै थियो ।

गत असोज मसान्तमा धितोपत्र बजार पुँजीकरण ३७ खर्ब १९ अर्ब ७२ करोड पुगेको छ । गत वर्ष असोज मसान्तमा बजार पुँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले तीन अर्बबराबरको म्युचुअल फन्ड, एक अर्ब ५८ करोडबराबरको साधारण सेयर, एक अर्ब २० करोडबराबरको डिबेन्चर र २४ करोडबराबरको हकप्रद सेयर गरी कुल ६ अर्ब २ करोडबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

आर्थिक वर्ष ०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रहेको थियो । चार वर्षअघि १ हजार ८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ विन्दुसम्म पुग्न सफल भएको थियो ।

पछिल्लो तीन महिनामा नेप्सेमा सूचीकृत भएका नयाँ आईपीओ

१. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड – २ करोड १५ लाख कित्ता आईपीओ ।

२. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड – ६० लाख ६४ हजार एक सय कित्ता आईपीओ ।

३. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड – १२ लाख ११ हजार ५ सय कित्ता आईपीओ ।

साउन महिनामा तीन नयाँ आइपीओसहित २१ कम्पनीको बोनस सेयरबापत सेयर सूचीकृत गरेका छन् ।

४. सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी – ६० करोड रूपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर (आईपीओ) ।

५. मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड – ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत ।

६. मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड – ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ सूचीकृत ।

प्रतिक्रिया