पेटमा पानी भरिने रोगबाट १३ वर्षदेखि ग्रसित श्यामलालको उपचार वीर अस्पतालमा सुरु

काठमाडौं । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा पेटमा पानी भरिने एक खालको रोगबाट १३ वर्षदेखि ग्रसित श्यामलाल सार्की नेपालीबारे समाचार प्रशारण भएपछि उनको उपचार वीर अस्पतालमा सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष चासो र निर्देशनमा ४९ वर्षिय नेपालीको उपचार शुक्रबारबाट सरकारी अस्पताल वीर अस्पतालमा सुरु भएको हो ।
एसाइटिस नामक सो रोगका कारण सन्धीखर्क नगरपालिका वडा नं ९ नौलापानीका नेपाली हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा थिए । विपन्न, गरिव र दलित परिवारमा जन्मिएका नेपालीको अहिले वीर अस्पतालको मेल मेडिकल वार्ड अन्तर्गत बेड नं १२३ मा उपचार भैरहेको छ ।
‘सचिवालयको विशेष निगरानी र मन्त्रीज्युको सचिवालको नियमित चासो तथा पहरेदारीमा अस्पतालबाट प्राप्त हुनसक्ने जति सबै सुविधा निशुल्क हुनेनेगरी उनको उपचार भैरहेको छ ।’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले भने ।
उनको अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परिक्षणहरु भैसकेको छ । कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भैरहेको चिकित्सकहरुले जनाएका छन् । सो पानी समेत परिक्षणका लागि दिइएको र रिर्पाेट बिहीबारमात्र आउने अस्पतालले जनाएको छ ।
उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्ने बारेमा चिकित्सकहरु निष्कर्षमा पुग्ने बताइएको छ । विरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलव्ध भएजतिका औषधी, खाना लगायत अन्य व्यवस्था गरिएको र बाहिर किन्नुपर्ने औषधी खर्चका लागि पनि अभियन्ताहरुले सहयोग अभियान चलाएको विरामीलाई रेखदेख गर्दै आएका सन्तोष लोहनीले जानकारी दिए ।

प्रतिक्रिया