गभर्नर अधिकारी भन्छन्- अहिले बजारमा तरलताको अभाव छैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए ।
उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए । गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए । यहाँले नेपालमा पनि कोभिड पछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए । उनले अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको बताए । यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत उनले बताए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए । अध्यक्ष गोल्छाले सरकारको तर्फबाट स्टिमुलस प्याकेज आउन नसकेको बताए ।
त्यस्तै, अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताए । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताए । एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताए ।

प्रतिक्रिया