शुक्रबार, चैत १६, २०८०

सिटिजन्सले अब मोबाइल बैंकिङमार्फत सीआरएन तथा डिम्याट दिने

नेपालखोज २०७८ मंसिर ९ गते २:००

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्गमार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरे पश्चात यो सेवाको सुरुवात गरेको हो ।

यो सेवा प्रारम्भ भएसंगै प्राथमिक सेयर निष्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले गरेको छ । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्नेलगायतका सुविधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्धती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्नेलगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नतीसंगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसीबसी बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बिश्वास समेत बैंकले लिएको छ ।

बैकले हाल देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११३ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया