मंगलबार, वैशाख ११, २०८१

वसन्तपञ्चमी किन मनाइन्छ ?

नेपालखोज २०७९ माघ १२ गते १०:१५

काठमाण्डौं । वसन्त पञ्चमी वसन्त ऋतुको पञ्चमीका दिन मनाइने पर्व हो । वसन्त पञ्चमी वा श्री पञ्चमी एउटा सनातन हिन्दू चाड हो । यो दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्व नेपाल लगायत पूर्वी भारत, उत्तरपश्चिमी बंगलादेश र अन्य धेरै देशहरूमा ठूलो उत्साहका साथ मनाइन्छ ।

यो दिन पहेँलो कपडा लगाउने चलन पनि छ । यो बालबालिकाहरुको शिक्षा प्रारम्भ गराइने दिन पनि हो । शास्त्रहरूमा ऋषि पञ्चमीसँगै बसन्तपञ्चमीको उल्लेख गरिएको छ । त्यसैगरि पुराण–शास्त्र र अनेकौं काव्यग्रन्थहरूमा यसलाई विभिन्न तरिकाले चित्रण गरिएको छ । सरस्वतीलाई वागीश्वरी, भगवती, शारदा, वीणावदानी र वाग्देवीआदि धेरै नामले पुजिन्छ ।

उहाँ ज्ञान र बुद्धिको प्रदायक हुनुहुन्छ । उहाँ संगीतकी देवी पनि हुनुहुन्छ । वसन्त पञ्चमीको दिनलाई देबि सरस्वतीको प्रकट पर्वका रूपमा पनि मनाइन्छ। ऋग्वेदमा भगवती सरस्वतीको वर्णन गर्दै भनिएको छ ।

प्रणो देवी सरस्वती वाजेभिर्वजिनीवती धीनामणित्रयवतु
यो परम चेतना हो । सरस्वतीको रूपमा, उहाँ हाम्रो बुद्धि र मनोवृत्तिको रक्षक हुनुहुन्छ। भगवती सरस्वती हाम्रो नैतिकता र बुद्धिको आधार हुनुहुन्छ । उहाँको समृद्धि र रूपको वैभव अचम्मको छ ।

वसन्त पञ्चमी (माघ शुक्ल)ले हाम्रो जीवनलाई धेरै तरिकाले असर गर्छ । परापूर्वकालदेखि नै विद्या र कलाकी देवी माता सरस्वतीको जन्मजयन्ती मनाइन्छ । शिक्षाविद्हरू यो दिन शारदेको पूजा गर्छन् र अधिक ज्ञानका लागि उहाँसँग प्रार्थना गर्छन् ।

यहि दिन देखि वसन्त ऋतु सुरु हुन्छ । यो दिन विद्या र कलाकी देवी सरस्वतीको पूजा आराधना गर्ने दिनका रुपमा मनाइन्छ । मौसमी फूल, फलफूल र चन्दनले सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई राम्रो आचरण, बुद्धिमत्ता, आकर्षक व्यक्तित्व तथा संगीतको प्रतीक पनि मानिन्छ।

वसन्त ऋतुको आगमनसँगै प्रकृतिका हरेक कण फुल्छन् । यति बेला मानिस मात्र होइन, पशुपक्षी तथा रुखबिरुवा पनि खुसी हुन्छन् । हरेक दिन सूर्य नयाँ जोश लिएर उदाउँछ र अर्को दिन नयाँ चेतना दिएर आउने विश्वास लिएर प्रस्थान गर्छ ।

प्रतिक्रिया