शुक्रबार, वैशाख ७, २०८१

कोरोनाकालमा ठूलो लगानीका होटेल थपिए

नेपालखोज २०७८ मंसिर १० गते १०:१९

म्याग्दी । पछिल्लो दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि म्याग्दीका पर्यटकीयस्थलमा ठूलो लगानीमा होटल संचालन भएका छन् । यहाँका व्यवसायीको पर्यटन पूर्वाधारमा लगानी बढेको छ ।

कोरोनाको फुर्सदको समयलाई पर्यटन व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका हुन् । बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानीमा बेनीका व्यवसायी प्रमोद श्रेष्ठले १५ करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याएका छन् ।

तातोपानीको पोखरीमा डुवुुल्की मार्दै प्राकृतिक उपचार गराउन आउने बिरामीलाई लक्षित गरी होटल सञ्चालन गरेको श्रेष्ठले बताएका छन् । सभाहलसहितको होटलमा तीन तारेसरह सुविधा भएको उनले प्रष्ट पारेका छन् ।

संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले २० करोड लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ निर्माण गर्दैछन् । अन्नपूर्ण तथा निलगिरी बेस–क्याम्प तथा हिमालपारिको मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी ठूला र सविधायुक्त होटल खोलेको सञ्चालक श्रेष्ठले जनाए ।

त्यस्तै दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाम आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरमा करिब पाँच करोड रुपैयाँको लगानीमा होटल मदरल्याण्ड इन निर्माण भइरहेको छ । स्थानीय होटल व्यवसायी टंकलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्षित गर्दै ठूलो र सुविधायुक्त होटल निर्माण गर्न लागेको जनाएका छन् ।

प्रतिक्रिया