दक्षिण अफ्रिकामा कोभिडकाे नयाँ भेरियन्ट, तेस्रो लहरको आशंका

काठमाडाैं । दक्षिण अफ्रिकामा कोरोनाकाे नयाँ भेरियन्ट फेला परेपछि अहिले संसारभर भयकाे नयाँ वातावरण सृजना भएको छ भने सबैतिर सचेतता र सावधानिका नयाँ आदेशहरु जारी हुन थालेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि दक्षिण अफ्रिका र बोत्सवानामा तीव्र गतिमा फैलिरहेको यो नयाँ भेरियन्टका सम्बन्धमा उल्लेख गरेको छ । लन्डनस्थित यूसीएल जेनेटिक्स इन्स्टिट्युटका निर्देशक फ्रेन्कोइस बोलौक्सले साइन्स मिडिया सेन्टरद्वारा प्रकाशित एक सूचना सामग्रीमा भनेका छन्- बी.1.1529 नामक यो नयाँ भेरियन्ट असामान्य रूपले ठूलो संख्यामा म्युटेसन हुन्छ ।
यो भेरियन्टबारे गरिएको एक अनुमानअनुसार यो उपचार नभएको कुनै एचआईभी/एड्सको रोगीबाट विकसित भएको हुन सक्छ । फ्रेन्कोइसका अनुसार यो पुरानै संक्रमणका बेला विकसित भएको हो । यो नयाँ भेरियन्टको संक्रमण कति तीव्रताका साथ कति फैलन्छ भन्ने कुरा केही समय यसको सूक्ष्म निगरानी र विश्लेषण गरेपछि मात्र थाहा हुनेछ ।
कोरोनाको यो नयाँ भेरियन्टसम्बन्धी समचार सार्वजनिक भएपछि संसारका विभिन्न देशले सावधानीका थप उपाय अपनाउन थालेका छन् । यस क्रममा स्थानीय निकायहरुलाई अलर्ट रहन भनिएको छ भने विमानस्थलहरुमा कडाइ गर्दै निगरानी बढाइन थालेको छ ।
विदेशबाट आउनेहरुको सघन टेस्टिङ गरिन थालेको तथा संदीग्ध केशको नमुनाको जिनमा सिक्वेंसिङ गर्न थालिएको छ । दक्षिण अफ्रिकाको नेसनल इन्स्टीट्युट फर कम्युनिकेबल डिजिजले एक विज्ञप्ति जारी गर्दै दक्षिण अफ्रिकामा कोरोनाको नयाँ मामिला फेला परेको जानकारी दिएको छ ।
एनआईसीडीका कार्यकारी निर्देशक एड्रियन प्यारोनले भनेका छन्, ‘दक्षिण अफ्रिकामा कोरोनाको एउटा नयाँ संस्करण फेला पर्नु चिन्ताको कुरा हो । अहिले हामीसँग यसको सीमित जानकारी र तथ्यांक मात्र छ । हाम्रा विशेषज्ञहरु यो भाइरसको नयाँ भेरियन्टलाई बुझ्न निगरानी प्रणालीहरुका साथ काम गरिरहेका छन् ।’
यसको सम्भावित प्रभाव के- कस्तो हुनसक्छ भन्ने कुराको पनि अध्ययन भइरहेको छ । अनेकौं कोणबाट यसको अनुसन्धान जारी छ । दक्षिण अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यो नयाँ परिस्थितिलाई लिएर आगामी साता सरकारी अधिकारीहरुसँग छलफल पनि गर्दै छ ।
दक्षिण अफ्रिकी सरकारले यो नयाँ भेरियन्टलाई लिएर चिन्तासमेत जनाएको छ । भाइरोलोजिस्ट ट्युलियो डी ओलिवेराका अनुसार बी.१.१५२९ नामक यो नयाँ संस्करणमा बढी नै म्युटेसन देखापरिरहेको छ ।
ओलिवेराले दक्षिण अफ्रिकाका केही यात्रीबाट यो नयाँ भेरियन्ट बोत्सवाना र हङकङसम्म पुगेको पुष्टि भएको जानकारी दिएका छन् । यो अंग्रेजी महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा लगभग १०० नयाँ बिमारी देखिएको यो भेरियन्टको प्रसार कति तीव्र छ भन्ने कुराको अनुमान गएको बुधबार एक दिनको संक्रमितको संख्या १२०० भन्दा बढी पुगेबाट पनि गर्न सकिन्छ ।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जो फाहलाले कोरोना भाइरसको नयाँ भेरियन्टमा विशेष ध्यान दिइएको कुरा बताएका छन् । उनले यसका संक्रमितहरु तीव्र रुपमा बढिरहेको जानकारी दिएका छन् ।
स्मरण रहोस गएको वर्ष दक्षिण अफ्रिकामा कोरोनाको बेटा संस्करण फेला परेको थियो । नयाँ उत्परिवर्तनका साथ कोभिडको नयाँ संस्करण फेला परेबाट दक्षिण अफ्रिका कोरोना महामारीबाट पीडित हुने देशहरुको अग्रपंक्तिमा रहेको पुष्टि भएको छ ।
प्रतिक्रिया