शुक्रबार, जेठ ३, २०८२

माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता

नेपालखोज २०७८ मंसिर १० गते १८:४६

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसी विरुद्ध र देशका समसामयिक विषयहरु, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्ने गरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने, ‘अहिले यो देशमा एमसीसीको आवश्यकता छैन् । अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भने मात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएकोझै नेपालमा पनि आतंक मच्चिन्छ । त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’

देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए । अध्यक्ष बुढाथोकीले एमसीसी विरुद्ध र देशका समसामयिक विषयमा मंसिर ४ गते काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको आयोजना सम्पन्न भएको पनि जानकारी गराए ।

त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुगेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताको त्यस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो । सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस गरेको उनले आरोप लगाए ।

त्यस्तै, कार्यक्रम संचालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले राष्ट्रवादीहरुको बीचमा आफूहरुले कार्यगत घोषणा गर्न लागेको बताए । नेपाली जनताहरुको अवस्था अझैपनि जस्ताको त्यस्तै रहेको उल्लेख गर्दै उनले अहिलेको व्यवस्था असफल भैसकेको बताए ।
अब देश बचाउन युवाहरु अगाडी बढ्नुपर्ने उनले धारणा राखे । युवाहरुले नेपालको व्याख्या विश्लेषण गरेमा भ्रष्टाचारी नेताहरुलाई नङ्ग्याउन सक्ने उनको भनाई थियो । उनले यो देश युवाहरुको हो भन्दै देश बनाउने जिम्मा युवाहरुकै भएको पनि सुनाए ।

अहिलेको व्यवस्था ४५ लाखलाई मात्र भएको भन्दै ३ करोड जनताको लागि नभएको उनले आरोप लगाए । यो व्यवस्था नेपाली नागरिकको लागि सुहाउँदो नभएको उनले धारणा राखे । त्यस्तै, माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्रीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि हालको व्यवस्था ठीक नभएको र वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको जिकिर गरे । सबै मिलेर दलाल, राष्ट्रघाती र भ्रष्टाचारीलाई बढार्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया