बिहीबार, वैशाख १३, २०८१

प्रश्नै प्रश्न छन् !

बालाराम तिमिल्सिना २०७८ मंसिर ११ गते ७:१३

भोकै मर्नेहरूमा
किन हाम्रै नाम आउछ
बलात्कारमा पर्नेमा
किन हाम्रै नाम आउँछ ?
फक्रनै नपाई यौवनै नआई
कोपिलामै झर्नेमा
किन हाम्रै नाम आउँछ ?
यहाँ प्रश्नै प्रश्न छन्
भन जवाफ दिन्छ कसले ?
त्यही हो युग-मानव
यसको जवाफ दिन्छ जसले !


अन्न लुकाएर
हामीलाई भोकै मार्ने को हो ?
थिचोमिचो अन्यायमा
हामीलाई पार्ने को हो ?
समाजको पिँधमा
नरकभन्दा नरकमा
घोक्र्याएर घँचेटेर
हामीलाई झार्ने को हो ?
यहाँ प्रश्नै प्रश्न छन्
यिनको जवाफ दिन्छ कसले ?
त्यही असल मित्र हो
यी जवाफ दिन्छ जसले !


थरी थरी जन्मद्वारको
कथा लेख्ने को हो ?
खुट्टाबाट जन्मिएको
मान्छे देख्ने को हो ?
तेरो शिरभन्दा मेरो
पैताला हो ठूलो
यसो भन्दै दिनौं हाम्रो
टाउको टेक्ने को हो ?
थाहै थाहा छ हामीलाई
धारा कुवा मन्दिरमा
बाटो छेक्ने को हो ?


आदित्यले न्यानो वाँड्दा
भेदभाव गरेन
चाँदनीले झेली गर्न
सोच्नु नै परेन
बतासले बराबरी
दियो प्राणवायु
तिमी को हो
अकालमै छोट्याउने आयु ?
यहाँ प्रश्नै प्रश्न छन्
यिनको जवाफ दिन्छ कसले ?
हामी उतै जुट्छौं
सही जवाफ दिन्छ जसले !


घृणा रोप्छौ सद्भावको
फल कसरी फल्छ ?
यस्तो घिन लाग्दो चलन
कति दिन चल्छ ?
तिमी जति बाटो रोक
पहरामा टाउको ठोक
तिम्रो अत्याचारी थिती
ढल्छ पक्कै ढल्छ !
कुरा साँचो छ हो कुरा साँचो छ
साँचो कुरा स्विकार गर्ने मात्रै खाँचो छ !

प्रतिक्रिया