हेपिएको गुर्जा गाउँ ‘हर्बल हब’ बन्दै

नेपालखोज २०७८ मंसिर ११ गते १०:२७

गलेश्वर । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धौलागिरि गाउँपालिकास्थित गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ ।

केही वर्षअघिसम्म ‘जीवित मानव संग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा आएको हो । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत गरिएको छ ।

आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको यस गाउँका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका छन् । उनका अनुसार गुर्जामा इटालियन जातको स्याउका बि?वा काठमाडौँदेखि लगेर रोपिएको थियो ।

म्याग्दीस्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको आठ सय बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् ।

गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको स्थल हो । पर्यटकलाई मन पर्ने गुर्जामा २५८ घरपरिवार बसोबास गर्दछन् । यहाँ छन्त्यालको जीवनी, सभ्यता र संस्कृति चिनाउन सकिने आँखीझ्याल पनि भएको पर्यटन व्यवसायी राजेश शाक्यले बताए ।
यस गाउँमा हिउँदका चार महिना बाक्लो हिउँले ढाक्ने गर्छ । गुर्जा पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्षण छ ।
मनग्गे आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन् । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाउन स्थानीयबासीलाई प्रेरित गरेको छ ।

गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले यसको व्यावसायिक खेती सुरु गरेका हुन् । आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलोपटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जनाएका छन् ।

प्रतिक्रिया