मंगलबार, वैशाख १६, २०८२

डब्ल्यूएचओको चेतावनी- कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रान’ तीव्र फैलन्छ

नेपालखोज २०७८ मंसिर ११ गते १२:१६

काठमाडौं । विश्व स्वास्थ्य संगठनको एक सल्लहकार समितिले दक्षिण अफ्रिकामा देखापरेको कोरोना भइरसको नयाँ भेरियन्ट निकै तीव्र गतिमा फैलने चिन्ताजनक प्रकारको भएको बताएको छ । यो नयाँ भेरियन्टलाई ग्रिक वर्णमालाअनुसार ‘ओमिक्रान’ नाम दिइएको छ ।

डब्ल्यूएचओले प्राविधिक सल्लाहकार समूहको एक आपत्‌कालीन बैठकपछि जारी गरेको विज्ञप्तिमा यसलाई एउटा हानिकारक परिवर्तन बताएको छ । प्राविधिकहरूको समूहले डब्ल्यूएचओलाई यसलाई चिन्ताका रुपमा लिन सल्लाह दिएको छ ।

कोभिड-१९ को यो नयाँ भेरियन्टका कारण दुई दिनभित्रै संसारभर तहल्का मच्चाएको छ भने भारतीय सेयर बजार रेकर्ड स्तरमा तल झरेको छ । यसक्रममा जेनेभामा हुन लागेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मन्त्रीस्तरीय बैठक स्थगित गरिएको छ । विश्व व्यापार संगठनले कोभिड-१९ भाइरसको नयाँ भेरियन्टका कारण बैठक स्थगित गरिएको कुरा बताएको छ । यो बैठक आगामी साता आयोजना हुन लागेको थियो ।

कोरोना भाइरसको प्रसारको डरले अनेक देशले दक्षिण अफ्रिकासँगको हवाई उडान स्थगित गरेका छन् । यता कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिका तथा बोत्सवानामा देखिएको छ भने एसियाको हङकङ जसको नेपालसँग सीधा सम्पर्कमा पनि पुगिसकेको छ । यो भेरियन्ट मिडिल इस्टको इजरायल तथा युरोपको बेल्जियममा समेत पुगिसकेको बताइएको छ ।

अहिले फ्रान्स, जापान, इटली, अस्ट्रिया, युनाइटेड किङडम, सिंगापुर, नेदरल्यान्ड, माल्टा, मलेसिया, मोरक्को, फिलिपिन्स, दुबई, जोर्डन, अमेरिका तथा क्यानाडाले दक्षिण अफ्रिकाको उडान बन्द गरिसकेका छन् । अन्य उडानमा पनि विशेष सावधानी अपनाइन थालेको छ भने स्क्रिनिङ र टेस्टिङमा विशेष ध्यान दिन थालिएको छ ।

भनिन्छ अहिलेको सार्स-कोभ-२ पीसीआर डायग्नोस्टिक टुल कोरोनाको यो नयाँ भेरियन्टका पत्ता लगाउन सक्षम छ । नेपाललगायत दक्षिण एसियामा यो नयाँ भेरियन्टको अहिलेसम्म बिरामी भने फेला परेका छैनन् । तर यसको सावधानीका लागि दक्षिण एसियालि सरकारहरुले तत्काल आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया