बिहीबार, वैशाख १३, २०८१

गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य…’ को रचनागर्भ !

नेपालखोज २०७८ मंसिर ११ गते १६:००

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट

पढ्दै गर्दा २००२ सालको कुरा हो जस्तो लाग्छ। पद्मशमशेर प्रधानमन्त्री भएपछि र भारतमा ‘नेपाल राष्ट्रिय कांग्रेस’ को स्थापना भैसकेको पृष्ठभूमिमा राजनैतिक चेतनाले ओतप्रोत भएका कवि गोपालप्रसाद रिमालसमेतका व्यक्तिहरुले भजनका माध्यमबाट जन-चेतना अभिवृद्धि गर्ने उद्देश्यले शुरुमा पशुपति नाथको मन्दिरमा जम्मा भै गोपालप्रसाद रिमालद्वारा रचित ” म गर्छु देश सेवा बल देउ लौ मलाई …” बोलको भजन गाउन थालेको, त्यो त्यत्ति प्रभावकारी नभएपछि शोभा भगवती (काठमाडौं ) मा शोभा भगवतीको प्रार्थना गर्न भनेर गाउन ” बखत भयो अब यही छ बेला…” बोलको गीत लेखेर गाउन थालेको ६/७ दिनपछि नै दशौं हजारको तायदातमा मान्छे जम्मा हुन थालेपछि उत्साहित भएका रिमालले राष्ट्रिय झण्डाको स्तुति गर्नु प-यो भनी ” रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो…” बोलको गीत लेखेको यथार्थ संगम प्रकाशन, श्रीमार्गबाट २०३९ साल साउन ९ गते प्रकाशित ” दमनराज तुलाधर “शीर्षकको आत्मकथाको पुस्तकबाट खुल्दछ।

दमनराज तुलाधर अगाडि लेख्नु हुन्छ-
” अनि गोपालप्रसाद रिमालले भने- अब हामीले राष्ट्रियता जगाउन राष्ट्रिय झण्डाको एउटा स्तुति पनि गर्नु प-यो। मैले भनें – हुन्छ, लेखेर ल्याउन।गोपालले भने- “अहा मलाई मुड” आयो। म अहिल्यै लेख्छु। त्यति भनेर फटाफट बिजेश्वरी( बिजेयेश्वरी)को मन्दिरतिर लागे। कृष्णप्रसाद रिमाल र म पनि उनको पछि पछि गयौं। गोपालप्रसाद गम्भीर भएका थिए।उनी मन्दिरको बहाल भित्रको काठको फलैंचामा बसे।हामी दुइ जना बाहिर बसेर चुरोट खान लाग्यौं। आधा घण्टा जति पछि गोपालप्रसाद फुई- फुई गर्दै बाहिर आएर मलाई कागजको एउटा खोष्टो दिएर “लौ पढ” भने।कहीं केरमेट नगरीकनै यो गीत लेखेछन।
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो
ज्यूँदो रगत सरी यो बल्दो यो शान हाम्रो…

भोलिपल्टदेखि शोभा- भगवतीको भजन सकिएपछि गोपालप्रसादले उपस्थित जनसमूहलाई सम्बोधन गरेर भने- बुझ्नु भो साथीहरु हो, चन्द्रसूर्य अंकित हाम्रो झण्डा अहिले सिहदरवारमाथि मात्रै फर्फराई रहेको छ। हामीले हाम्रा प्रधानमन्त्रीलाई झण्डावाल भन्ने पनि गर्दछौं । तर वास्तवमा त्यो झण्डा हाम्रो राष्ट्रियताको प्रतीक हो। त्यो झण्डालाई सम्मान गर्न सिकेपछि मात्रै देशसेवा गर्ने काममा लाग्न सक्छौं। त्यसैले अब हाम्रा हातमा सूर्य-चन्द्र भएको झण्डा बोकेका छौं भन्ने कल्पना गरेर यो झण्डा – स्तुतिलाई भक्तिपूर्वक सुनिदिनोस्।” त्यसो भनेपछि हामी तीनै जनाले झण्डा समातेको अभिनय गरेर स्तुति गर्न थाल्यौं।त्यस स्तुति- गानको लय फौजी जवानहरु पंक्तिबध्द भई अगाडि बढ्दाको तालमा भएकोले जनसमूहले पनि खुट्टा बजारेर ताल दिए।स्तुति सकिएपछि हामीले जय नेपाल भनी अभिवादन गर्दा जनसमूहबाट अति जोशिलो स्वरमा प्रतिध्वनित भयो। “

(धन्यवाद : अत्यन्तै दुर्लभ मानिने यो पुस्तक पढ्ने अवसर उपलब्ध गराइदिएकामा साहित्यकार/पत्रकार भाइ रमण घिमिरेलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।)

प्रतिक्रिया