बिहीबार, वैशाख २०, २०८१

मनमार्गमा रहिरहने लोकमार्ग-यात्रा

महेश केसी गाैतम २०७८ जेठ २२ गते १०:००

वैशाखको तेस्रो साता एउटा यात्रा र घुमघाममा निस्किने निधो भयो । गन्तव्य थियो, पर्वत कुश्मा । कुश्मा पुग्ने अनि बञ्जी हानेर फर्किने एकल उद्देश्य थियो । यसैअनुरुप वैशाख १२ गते रुकुम-पश्चिमको सदरमुकाम मुसीकोटबाट यात्रारम्भ भयो । यहाँबाट दिनभर यात्रा गरेपछि साँझपख कुश्मा पुगिन्छ । मेरो यात्राका साथी थिए पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसी । बिहान साढे १० बजेतिर मुसीकोटबाट यात्रा सुरु भयो ।

नेपालको पहाडी जिल्लाहरू जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यहाडी लोकमार्गको यात्रा । यो मार्गमा यसअघि पनि म धेरैपटक यात्रा गरिसकेको भएर मेरा लागि नयाँ नभए पनि लक्ष्मणजीका लागि भने यो नयाँ बाटो थियो । यात्रा सुरु भएपछि लक्ष्मणले मेरो झोला ठूलो भएकामा गुनासो गरे । मेरो बानी नै त्यस्तै हो, घर छोडेर कतै निस्कनु परेपछि झोलामा आवश्यक सबै सरसामान बोक्ने । यसकारण झोला गह्रौं भएको थियो ।

हिउँदभरि झरी नपर्दा सुक्खा भएको रनवन वैशाख पहिलो सातादेखि झरी पर्न थालेपछि भने केही सुहाउँदो देखिएको थियो । साना-ठूला रुख र बुट्यानहरूले पालुवाको प्वाख उमार्ने प्रयास गरिरहेका थिए । मध्यपहाडी लोकमार्गको बाटो भएर बागलुङतिर जाने भनेपछि खुसीले फर्किने मन मेरो मात्रै पक्कै होइन होला । भीमकाय पहाडको बीच भएर अघि बढेको सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ भने कतै कालोपत्रे गर्ने काम धमाधम चलिरहेको छ । तराई जस्तो एकनासको वन, बस्ती अनि बजारभन्दा विल्कुल फरक छ मध्यपहाडी लोकमार्ग । उकालो चढ्दै, ओरालो झर्दै । साना-ठूला खोला पार गर्दै । वरिपरि र वारिपारिका बस्तीहरू नियाल्दै यो लोकमार्गमा यात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ । कतै घामले न्यानो दिन्छ त, कतै चिसो सिरेटोले मुटु कमाउँछ ।

मोटरसाइकलमा सेट गरेको ट्रिपअनुसार मुसीकोटबाट करिब ८० किलोमिटर पूर्व पाथीहाल्ना पुग्दा दिउँसोको साढे १ बजेको थियो । रुकुम पूर्व, बागलुङ र रोल्पा जिल्लाको संगमस्थलका रुपमा रहेको पाथीहाल्ना बडो गज्जबको ठाउँ छ । डाँडामा तीनवटा जति स्थानीय होटेल छन् । लोकमार्गको रुकुम-पर्वत खण्डको सबभन्दा उचाइमा रहेको स्थल हो पाथीहाल्ना, यहाँको चिसो सिरेटोसँगै चियाको चुस्कीमा रमाउनुको आनन्द पनि छुट्टै हुन्छ । हामीले पनि त्यसै गर्‍यौं । लक्ष्मणजीले तातो सुप फर्माएपछि चियासँगै चाउचाउको सुपको तातो ग्रहण गरियो ।

पाथीहाल्नाबाट अब भने लोकमार्ग विस्तारै ओरालो झर्छ । करिब आधा घण्टा जति ओरालो झरेपछि निशी खोला पुगिन्छ । निशी खोला तिरैतिरै थप आधा घण्टाको यात्रापछि पहाडको फेदीमा गजधुम्म भई बसेको सुन्दर नगरी बुर्तिबाङ पुगिन्छ । निशी खोला झरेपछि भने हाम्रो मोटरसाइकलको टायर पन्चर भयो । धन्न टायर बनाउने ठाउँ नजिकै रहेछ र मर्मत गर्न सकियो । नत्र परेसान हुन्थ्यो ।

बुर्तिबाङ पुग्नु केही अघि र बुर्तिबाङ कटेपछिको सडकमा निर्माणको काम भइरहेकाले केही उबडखाबड छ । तर, हिँड्नै नमिल्नेचाहिँ हैन है । बुर्तिबाङबाट मध्यपहाडी छाडेर ३२ किलोमिटर उत्तर-पूर्वतिर गएपछि नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुगिन्छ । गएको दसैँलगत्तै म ढोरपाटन पनि पुगेको थिएँ । तर, यसपटक भने हामी मध्यपहाडी हुँदै अघि जाँदै थियौं ।

बुर्तिबाङबाट पहिला बडीगाड खोला त्यसपछि दरम खोलाको तिरतिरै भएर मध्यपहाडी लोकमार्ग अघि बढ्छ । खोलाछेउमा रहेका बजार, बस्ती र फाँटको सुन्दरतामा रम्दै गलकोट बजार पार गरेर उकालो चढेपछि बिहुँ डाँडा पुगिन्छ । बुर्तिबाङबाट गल्कोट पुग्दा बीचमा हुरीसहितको ठूलो झरी पर्‍यो । जसोतसो अघि बढियो ।

यो यात्राका सहयात्री लक्ष्मणजी र म रुकुममा रहेर सँगसँगै पत्रकारिता थालेका अनि विगतमा थुप्रै अनुभव, अनुभूति सँगालेका मिल्ने साथी हौं । बाटोभरि केही विगतका सम्झना, केही आगतका योजना अनि केही हाँसो, ठट्टा र मौनतासहित हाम्रो यात्रा अढि बढ्यो । बिहुसम्म पुग्दा यात्रा सहज रहे पनि बिहुबाट ओरालो लागेपछि भेटिने घोडाबाँध्नेदेखि बागलुङ बजारसम्मको सडक भने अलि खराब रहेछ । रातिको करिब ८ बजे कुश्मा पुगियो । धुलाम्मे, हिलाम्मे भएको मोटरसाइकलको मिटर स्क्रिनमा रहेको पहिलो ट्रिपमा हेरेपछि थाहा भयो मुसीकोटबाट करिब साढे नौ घण्टा गुडेपछि करिब २२० किलोमिटर पूर्व कुश्मा पुगिएछ । रुकुम घर भई हाल पर्वत रेडक्रसमा कार्यरत प्रेम केसी दाजुले कुश्मामा हामीलाई स्वागत गर्नुभयो । दिनभरिको यात्राले थकित भएका हामी प्रेम दाजुको अतिथ्यता ग्रहण गर्दै मीठो खान्की पछि भुसुक्क भइयो ।

भोलिपल्ट प्रात:कालीन नित्यकर्मपश्चात कुश्मा पुग्नुको उद्देश्य पूरा गर्न बन्जी पुल पुगियो । जसरी पनि बन्जीको मजा लिने उद्देश्य थियो । लक्ष्मणजी र प्रेम दाइले आफूले बन्जी नगरे पनि मलाई मज्जैले हौस्याउँदै थिए । पुल पुगेको करिब एक घण्टाको प्रतिक्षापछि खुट्टामा डोरी बाँधेर खोलाबाट हाम फालियो अर्थात् बन्जीको मज्जा लिइयो ।

बन्जीको अनुभव शब्दमा बताउन सायदै सकिएला । कोरोनाको दोस्रो लहरको त्रास सुरु भइसकेकाले कुश्मामा रहेर थप रमाइलो गर्न सक्ने अवस्था रहेन र हामी त्यसै दिन रुकुम फर्किनुपर्ने भयो । कुश्माको बसाइ अविस्मरणीय बनाउन सहयोग गर्नुहुने प्रेम दाइलाई धन्यवाद दिँदै, टाढैबाट कालिका भगवतीको दर्शन गरेर हामी पुनः साबिककै बाटो भएर रुकुम फर्कियौं ।

मध्यपहाडी लोकमार्गको छोटो, मीठो यात्रा र कुश्माको बसाइ सकेर कर्मस्थल रुकुम फर्केएको केहीदिनमै कोरोना कहरका कारण निषेधाज्ञा जारी भयो । त्यसपछि घुम्न पाइएको छैन, यात्रामा रम्न पाइएको छैन । तर, लोमार्गको यात्रा मनमार्गमा भने सुरक्षित छ, रहिरहनेछ । जय होस् !

प्रतिक्रिया