शुक्रबार, जेठ ३, २०८२

ओलीले भने- अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्नुपर्छ

नेपालखोज २०७८ मंसिर ११ गते १९:४३

काठमाडौं । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न राउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गरेका छन् ।

चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार नारायणी किनारमा भएको उद्घाटनसत्र आम जनताको साथ सहयोगमा अत्यन्तै उल्सालपूर्णरूपमा सम्पन्न भएकोे बताए ।

“एमाले प्रतिपक्षमा हुनुको अर्थ हाम्रा अगाडि चुनौती थपिएको छ, तर हामी जनादेशबाट प्रतिपक्षमा पुगेका होइनौँ”, अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका सीमालाई नाघेर अघि बढ्ने कोसिस भएकाले यसलाई दृढतापूर्वक प्रतिवाद गर्नु हाम्रो दायित्व हो । न्यायालय र राज्यका अन्य अंगहरू दुरुपयोग हुने स्थितिलाई पार लगाउँदै पुनः हामीले मुलुकको नेतृत्व गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्दछ । दुनियाँका लागि नमूना महाधिवेशन गरेर देखाउनुपर्नेछ ।”

करिब तीन घण्टा लामो आफ्नो सम्बोधनमा उनले पार्टीलाई अत्यन्तै गम्भीरताका साथ पार्टी सञ्चालन गर्नुपर्ने अवस्थामा आफूहरू रहेकाले यस स्थितिमा विधान महाधिवेशन आयोजना गरेर मुलुकका लागि आवश्यक नीति, विचार र विधिहरू तय गरेको स्मरण गराए । अध्यक्ष ओलीले भने, “पार्टीमा चौतर्फी घेराबन्दी र केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी चोइट्याउने छुद्र खेल हुँदा पनि आम कार्यकर्ताले पार्टीलाई जुरुक्कै बोकेको देखेर म खुसी छु । आम कार्यकर्ताको उत्साहित मनोबलले समृद्धिको यात्रा सुरक्षितरूपमा अघि बढ्छ भन्नेमा म ढुक्क छु । हामी एमालेहरू जनपुत्र हौँ । जनताका छोराछोरी हौँ ।”

“मुलुकलाई शान्तिपूर्णरूपमा गतिविधि गर्ने सुनिश्चिता भएको छ । हिंसा भड्कन नदिएर गरिबीको उन्मूलन गर्दै विश्व समुदायसँग मिलेर काम गर्न हामी अग्रसर छौँ”, भन्दै अध्यक्ष ओलीले शान्ति, एकता र सद्भावका माध्यमबाट हामी विश्वका साझा चुनौतीको सामना गर्न सक्ने र राष्ट्रको हितमा संघर्ष र साझेदारी गर्न आफूहरू तयार भएको बताए । वाम आन्दोलनलाई बदनाम बनाउने कोसिस भए पनि त्यस्ता भ्रम चिर्न एमाले समर्थ हुने गरी अघि बढ्न उनले आग्रह गरे ।

अध्यक्ष ओलीले एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुशी मनाउनेहरूलाई विधान महाधिवेशन र १०औँ महाधिवेशनको व्यापक उपस्थिति र सफलताले जवाफ दिएको जिकीर गरे । कम्युनिष्ट आन्दोलनलाई सहीरूपमा सञ्चालन गर्दै उनले ‘राजनीतिक उपलब्धिलाई गुम्न नदिएर विकासका प्रयासलाई सहीरूपमा अघि बढाउनु आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले नवौँ महाधिवेशनपछि संविधान निर्माणमा सार्थक भूमिका निर्वाह गरेको, पार्टी एकता, तालमेल र सरकारको नेतृत्व गरेको, पार्टीको स्पष्ट विचार र दृष्टिकोणका साथ सामाजिक परिवर्तनको आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गरेको बताए।

उनले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताका पक्षधरले वामपन्थीको एकता र तालमेललाई भत्काएर सरकार बनेको आरोप लगाए । पार्टीभित्र चौतर्फी हमला हुँदा पनि नेता कार्यकर्ताको उत्साह र महाधिवेशनमा भएको जनसहभागिताले आफूहरूमा उत्साह थपेको अध्यक्ष ओलीले बताए । बन्दसत्रमा केन्द्रीय कमिटीको बैठकले तयार गरेको विधान संशोधन प्रस्ताव पारित गरिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया