शुक्रबार, जेठ ३, २०८२

नेपाल-भारत सीमानालाई सुरक्षित र अपराध मुक्त बनाउने निर्णय

नेपालखोज २०७८ मंसिर १३ गते ७:००

काठमाडाैं । नेपाल तथा भारतका सुरक्षा अधिकारिहरुको एक स्थानीय स्तरको बैठकले दुवै देशको सीमानालाई सुरक्षित र अपराध मुक्त बनाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ । भारतमा अपराध गरेर नेपाल आइ लुक्ने तथा नेपालमा अपराध गरी भारत पुग्ने प्रवृत्ति माथि नियन्त्रण गर्न दुवै पक्षले सहकार्य गर्ने सहमति गरेका छन् ।

यसका साथै नेपाल-भारत सीमामा तस्करी गर्नेहरु विरुद्ध पनि लगाम लगाइने भएकोछ । यसका लागि एउटा विस्तृत रणनीतिसमेत तयार गरिएको कुरा दैनिक हिन्दुस्थानको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

अपराधि तथा तस्करहरु विरुद्ध संयुक्त अभियान चलाउने विषयमा नेपालको नवलपरासी जिल्लाका सुरक्षा अधिकारिहरु तथा भारतको एसएसबी २१ भि बाहिनीको बैठक भारतको सिमावर्ती सहर वाल्मीकिनगरमा बसेको थियो ।

बैठकमा मुख्य रुपले नेपाल- भारतका अधिकारीहरुले सहकार्य गर्दै तस्करी, वन तस्करी, मदिरा तस्करी, मानव तस्करी लगायतका अवैध गतिविधिहरुमा कडाइका साथ प्रस्तुत हुने विषयमा छलफल भएको बताइएको छ । बैठकमा सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै दुवै देशका अधिकारीहरु बीच आपसी सहयोग र तालमेल बढाउने तथा अपराधिहरुक‍ो सूची आदान -प्रदान गर्ने कुरामा पनि सहमति भएको छ ।

उक्त बैठकमा नेपालका तर्फबाट एपीएफका एसपी महेश अधिकारी तथा भारतका तर्फबाट एसएसबीका कार्यवाहक कमान्डेट श्रीप्रकाश लगायतका सुरक्षाकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया