राप्रपा महाधिवेशन : अध्यक्ष लोहनी लिङ्देनको पक्षमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताए ।
उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले पार्टीका अन्य दुई अध्यक्ष कमल थापा र पशुपति शमशेर राणालाई पनि अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समयको पद्चाप बुझेर एकपटक विश्राम लिन आग्रह गरे । उनले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महसुश गर्नु नपर्ने पनि बताए । नेता लिङ्देनले पार्टी भित्रका मात्रै नभई पार्टी बाहिरका शुभेच्छुकहरु पनि नयाँ नेतृत्वको पक्षमा रहेको दावी गरे ।
उनले पार्टीभित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताए । नेता लिङ्देनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया