‘त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय’

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएकाछन् । विश्वविद्यालयको आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उनले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे ।
नेपालले लामो समयसम्म राजनीतिकरूममा लोकतान्त्रिक आन्दोलन र विकासमा समय व्यतीत गर्नुपरेको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थिरता कायम हुँदा मात्र विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि वातावरण बन्ने बताए ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीयस्तरका विश्वविद्यालयमा गरिने अनुसन्धान तथा ती विश्वविद्यालयबीचको अन्तक्र्रियाले नेपालका समग्र विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धी सीपसहितका सक्षम जनशक्ति नेपालमै उत्पादन गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्दै उनले त्रिभुवन विश्वविद्यालयको वर्तमान नेतृत्वले आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने अपेक्षा व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालयले समयसारणीसहितको कार्ययोजनाका साथ अग्रसरता लिनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई अनुसन्धान कार्यमा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए ।
मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा नै भएको उल्लेख गर्दै उनले त्रिभुवन विश्वविद्यालयले शैक्षिक नीतिहरूसँग तादाम्यता कायम गर्दै प्रतिस्पर्धी युगमा प्रभावकारी शिक्षणका लागि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
उच्च शिक्षालाई अनुसन्धानमूलक, सिर्जनात्मक र नवप्रवर्तनतर्फ त्रिविले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी भएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले सो अवसरमा विश्वविद्यालयले देशमा उच्च शिक्षामा जनताको पहुँच विस्तार गर्दै राष्ट्रिय आवश्यकताअनुसारका उच्चस्तरका जनशक्ति र विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने कार्यमा सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।।
प्रतिक्रिया