बिहीबार, वैशाख १३, २०८१

नेपाली जीवन र संस्कृति

लोकेश ढकाल २०७८ मंसिर १५ गते १०:५१

आकारमा सानो मुलुक भएर पनि नेपाल भौगोलिक, जातिगत, भाषिक, धार्मिक एवं साँस्कृतिक विविधता भएको देश हो । नेपाल बहुभाषिक, बहुजातीय र हिन्दू बाहुल्य बहुधार्मिक एवं बहुसाँस्कृतिक देश हो । क्षेत्री, ब्राम्हण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, लिम्बू, गुरूङ आदि ठुलो जनसङ्ख्याका जातजातिका अतिरिक्त नेपालमा १२७ जातजातिका मानिस बसोबास गर्दछन् । भाषागत दृष्टिले नेपालमा १२९ भाषाभाषीको प्रचलन रहेको छ । मानव अधिकारको मूल्य र नेपालको संविधानको दृष्टिले सबैको अधिकार समान छ । जातिगत आधारमा कोही पनि मानिस ठुलो वा सानो हुँदैन, सबै समान हुन् । जाति, भाषा, धर्म र सांस्कृतिक विविधता समस्या होइनन्, बरु नेपालको सम्पदा र हाम्रा गौरव हुन् । यस सन्दर्भमा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको ‘नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो’ भन्ने उक्ति महत्त्वपूर्ण छ । नेपाल साँस्कृतिक दृष्टिले धनी राष्ट्र हो । यस देशमा बहुजाती, बहुभाषी, बहुधार्मिक समुदायका मानिसहरूको आ–आफ्नै वेशभूषा र संस्कृतिहरू छन् ।

व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ । समाज भित्रका सबै धर्म, सँस्कृति, जाति, भाषा, वेशभूषा, खानपान, रहनसहन, पेसा–व्यवसाय, चाड–पर्व, जात्रा, उत्सव-मेला आदि अवलम्बन वा अभ्यास गर्ने मानिसहरू आपसमा मिलेर बसोबास गरेका हुन्छन् । समाजमा हुने यस्तै विभिन्न राजनीतिक, धार्मिक, सांस्कृतिक गतिविधि अनि ज्ञान–विज्ञान, साहित्य, कला, मनोरञ्जन जस्ता सम्पूर्ण मानवीय गतिविधि र क्रियाकलापले देशको आफ्नो छुट्टै विशिष्ठ पहिचान गराएको छ । यसको विशिष्टता नै नेपालीपन हो र यसको समग्रता नै नेपाल राष्ट्र हो ।

परम्परा र इतिहास बोकेको देश
वर्तमान नेपाल राष्ट्रको निर्माण कुनै एक दिनमा वा एउटा प्रयासले मात्र भएको होइन, यसको लामो इतिहास छ, त्यसको विस्तृत उल्लेख यहाँ संभव छैन । विभिन्न धर्मग्रन्थ र पुराणहरूमा नेपाल अत्यन्त नै प्राचीन भूमिको रूपमा वर्णन गरिएको पाइन्छ । प्राचीन कालमा नेपाल हिमालय पर्वत र पहाडी श्रृङ्खलाको यो भूमि ऋषि–महर्षिहरूको तपोभूमिको रूपमा उल्लेख गरेको पाइन्छ । नेपाल शब्दको पहिलो उल्लेख भने अथर्व परिशिष्टमा गरिएको पाइएको छ । तर यसको समय निश्चित नभए तापनि महाभारतकाल अघि नै यसको रचना भएको मानिन्छ । धर्मग्रन्थहरूमा नेपाललाई कामप, विदेह, उदुम्बर, अवन्ती र कैकेय देशहरूसँगै राखी उल्लेख गरिएको पाइएबाट नेपाल पुरानो देश रहेको मान्न गाह्रो छैन । ‘मूलसर्वास्तिवादविनयसंग्रह’ नामक बौद्धग्रन्थमा पनि नेपाल सम्बन्धी चर्चा पाइन्छ । पवित्र महाभारत ग्रन्थको वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ।

जैनग्रन्थको आवश्यक सूत्र र कौटल्यको अर्थशास्त्र (ई.पू.चौथो शताब्दी) ले पनि नेपालको सम्बन्धमा उल्लेख गरेका छन् । भारतीय सम्राट समुद्र गुप्तले इलाहावाद अभिलेखमा नेपालको उल्लेख छिमेकी सीमान्त राज्यको रूपमा गरेका छन् । त्यस पछिका अन्य स्रोत र प्रमाणहरूले पनि नेपाल एक स्वतन्त्र राज्यको रूपमा नै अस्तित्वमा रहेको प्रमाणित गर्दछ । नेपालको शिलालेखहरूमा भने पहिलो पटक वि.स. ५६९ को टिस्टुङ अभिलेखमा मात्र नेपाल शब्दको प्रयोग गरेको पाइन्छ ।

(यो सामग्री हामीले लेखक/विश्लेशक एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालद्वारा लिखित ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श पुस्तक’ बाट लिएका हौं । पुस्तक शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।)

हाम्रो देश नेपाल, हामी सबै नेपाली

प्रतिक्रिया