राष्ट्र बैंकले भोलि २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार मंसिर १६ गते अर्थात भोलि दिउँसो दुई बजेसम्ममा २५ अर्ब रुपैयाँ बराबरको उक्त ट्रेजरी खरिद गर्न लागिएको हो ।
फागुन मसान्तसम्म भुक्तानी मिति तोकेर नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ भने काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ ।
उदाहरणको लागि एक सय रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण एक करोड वा एक करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोल मूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ ।

प्रतिक्रिया