शनिबार, जेठ ४, २०८२

प्रचण्डले भने- परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न माओवादीको विकल्प छैन

नेपालखोज २०७८ मंसिर १६ गते १४:५३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरेका छन् ।

अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गरेका छन् । उनले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताए । उनले मधेशी जनताको, दलित, जनजातीहरुको हकहीतको कुरालाई लिएर आफूले संविधान संसोधनको प्रश्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संसोधन हुन नसकेको उल्लेख गरे । अध्यक्ष दाहालले नेकपा एमाले जनजातीको, दलित, महिला, मुस्लिमहरुको हक अधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाए ।

अध्यक्ष दाहालले देशभर अहिले झन्डै ८ लाख सदस्यहरु नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी गरेका छन् । उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रित भएर नेताहरुको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरुप्रतिका एजेण्डा बिर्सिएर गल्ति गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिवद्धता गरे ।

उनले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, जनता र उनीहरुको मुक्ति आन्दोलनलाई निस्कर्षमा पुर्‍याउने कुरा जनतासमक्ष प्रश्तुत गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह पनि गरेका छन् । अध्यक्ष दाहालले देशमा जनता र कार्यकर्ता नबिग्रिएको बरु नेताहरु नै बिग्रिएको भन्दै नेताहरु सच्चिन्छौँ भनेपछि अहिले सबै कुरा लयमा आएको दाबी गरे ।

प्रतिक्रिया