कांग्रेस केन्द्रीय सदस्यमा सत्तारको उम्मेद्‌वारी घोषणा

नेपालखोज २०७८ मंसिर १६ गते १५:१४

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गोरखाका अब्दुल सतारले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सत्तारले मुस्लिम आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसका नेताहरुले आफूअनुकूल विधानको व्याख्या गर्दा निकै समस्या आउने गरेकाले भोलिका दिनमा पार्टीलाई विधानसम्मत अघि बढाउन आफूले पहल गर्ने सत्तार बताउँछन् । उनी भन्छन्, ‘आफूअनुकूल हुँदा ठीक र प्रतिकूल हुँदा बेठीक ठान्ने प्रवृत्तिको अन्त्य नगरेसम्म पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाउन सकिँदैन ।’

पछिल्लो समय कांग्रेसमा युवापुस्ताको आकर्षण बढ्न सकेको छैन । युवा पुस्तालाई कांग्रेससँग जोड्न सके मात्र आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन सकिने भएकाले युवा जोश र जाँगरलाई कांग्रेससँग जोड्नका लागि प्रमुख रुपमा आफ्नो उम्मेद्‌वारी केन्द्रित रहेको सत्तारको भनाइ छ ।

आर्थिक रुपमा आफू पारदर्शी हुने र पार्टीलाई पनि पारदर्शी ढंगबाट अघि बढाउन आफूले प्रयास गर्ने उनी बताउँछन् । उनले पार्टीका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि आफूले केन्द्रमा गएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अझै पनि क्षेत्रीय तहबाट प्रतिनिधित्व सुनिश्चित हुन नसकेको भन्दै सत्तारले भोलिका दिनमा हरेक तहमा प्रतिनिधित्व सुनिश्चित गराउन आफूले पहल गर्ने बताउँछन् ।

सत्तार गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् । कांग्रेसको विधानअनुसार मुस्लिम आरक्षणतर्फबाट एक सह-महामन्त्री, दुई पुरुष सदस्य, एक महिला सदस्य गरी केन्द्रीय समितिमा चारजनाको प्रतिनिधित्व हुने व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ गते हुँदै छ ।

प्रतिक्रिया