माओवादी केन्द्र : वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भएपनि आज, भोलि नै सबै सकिने र पालिका अधिवेशनहरु पनि उत्साह पूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए । प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुष ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताए । स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

प्रतिक्रिया