पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजदेखि पोखरामा सुरु गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले बीपीको विचार र सिद्धान्तबाट पार्टी अलग भइरहेको बताउँदै उनका आदर्श र चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
समय र मागअनुसार कांग्रेस अघि बढ्नु पर्नेमा जोड दिदै उनले विगतको समिक्षाका आधारमा दीर्घकालिन योजनाका साथ कृयाशिल बन्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिबाट चल्न नसक्दा यसले पार्टी संगठनलाई कमजोर बनाएको बताउँदै उनले पार्टीका आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै संगठित र एकतावद्ध बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बीपीले देखाएको बाटोमा हिड्न नसक्दा पार्टी कमजोर बन्दै गएको बताउँदै उनका आदर्श र चिन्तालाई अवलम्बन गर्दै संगठनलाई थप मजवुद र कृयाशिल बनाएर जानुपर्ने बताए । महाधिवेशनले आगामी दिनमा पार्टीलाई अझै संगठित र एकतावद्ध बनाएर लैजाने उनले विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले महाधिवेशनले पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाएको बताउँदै यही जोस र उमंगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख ताराना रानाभाटले महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई अघि बढाएको बताउँदै निर्वाचित नेतृत्वले पार्टीलाई थप मजवुद र कृयाशिल बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया