राष्ट्र बैंकद्वारा १ खर्ब ११ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद

नेपालखोज २०७८ मंसिर १७ गते ८:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब ११ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । राष्ट्र बैकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा अमेरिकी डलर ९४ करोड बिक्री गरी उक्त परिमाणमा भारतीय रुपैयाँ खरिद गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी ९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो, राष्ट्र बैंकले भनेको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले १० खर्ब आठ अर्ब १७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ ।

यस अन्तर्गत रिपोमार्फत एक खर्ब ८५ अर्ब ५० करोड र स्थायी तरलता सुविधामार्फत् आठ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ तरलता प्रवाह गरिएको हो, राष्ट्र बैंकले भनेको छ । यसैगरी चालुु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप संकलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । यसैगरी चालु आवको पहिलो तीन महिनामा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात वाणिज्य बैंकहरुबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी एक खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैकका अनुसार २०७८ असार मसान्तमा २८ सय ८३ दसमलव चार अंकमा रहेको नेप्से सूचकांक २०७८ असोज मसान्तमा २६ सय ५७ अंकमा सिमित हुुन पुगेको छ । सोही आधारमा २०७८ असार मसान्तमा ४० खर्ब १० अर्ब ९६ करोड रहेको बजार पुँजीकरण २०७८ असोज मसान्तमा ३७ खर्ब १९ अर्ब ७२ करोड रुपैयाँमा सिमित हुन पुगेको राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया