शनिबार, जेठ ४, २०८२

‘वर्तमान सरकारबाट मुलुक चल्न सक्दैन, निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्छ’

नेपालखोज २०७८ मंसिर १७ गते १४:३४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो मुलुक निर्वाचनमा जानुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मी माझ वर्तमान सरकारबाट मुलुक चल्न नसक्ने भन्दै छिटो निर्वाचनमा गएर नयाँ सरकार गठन गर्नुपर्ने बताए ।

उनले सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहीनताको अवस्थामा पुर्‍याएकाले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारे । अध्यक्ष ओलीले सत्तारुढ केही दलको काम बिगार्ने र भत्काउने बाहेक अरु केही नभएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले आगामी मंसिर २८ गतेका लागि आह्वान गरिएको संसद बैठक पनि चल्न नदिने अडान दोहोर्‍याएका छन् । राष्ट्रपति विद्या भण्डारीले आगामी मंसिर २८ गते संघीय संसद बैठक आह्वान गरेकी छन् । तर त्यो बैठक पनि चल्न नदिने अध्यक्ष ओलीले चेतावनी दिए ।

उनले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरु बैठकमा आउने भएकाले आफूहरुले संसद बैठक चल्न दिन नसक्ने तर्क समेत गरे । उनिहरु गैर सांसद भएकाले उनीहरु आएको संसद बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौं महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको दाबी समेत गरे ।

प्रतिक्रिया