शनिबार, जेठ ४, २०८२

अध्यक्षका लागि थापा र लिङ्देनको मनोनयन दर्ता

नेपालखोज २०७८ मंसिर १७ गते १५:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने बताए । उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताए ।

अध्यक्ष थापाले शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे । उनले पार्टीमा युवा नेतृत्व आउनु शुभ संकेत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनय दर्ता गराएको बताए ।

अध्यक्ष थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने बताए ।

मनोनयन दर्ता पछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए ।

अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए । उनल आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए । पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधि भित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया