अध्यक्ष दाहालले भने – प्रेसलाई अंकुश लगाउने ऐन खारेज गरिन्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अंकुश लगाउने ऐन खारेज गरिने बताएका छन् । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए ।
उनले भने, “विगतको सरकारले जे–जस्ता ऐन बनाएर कहीँ न कहीँ प्रेस जगत्लाई अंकुश लगाउने काम गरेको थियो तिनलाई खारेज गरिने छ, यो हुन दिइने छैन ।” यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल सुरु भइसकेको जनाउँदै उनले प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको जानकारी दिए । उनले भने, “त्यसो हुन दिइने छैन, जति प्रेस बलियो हुन्छ, जति पत्रकार जिम्मेवार र संगठित हुन्छन् त्यति लोकतन्त्र सुदृढ र समाजवादको आधार तयार हुन्छ ।” स्वतन्त्र प्रेससँगै समाजवादको दिशातर्फ अघि बढ्ने कामको सुनिश्चितता हुने उनको भनाइ थियो ।
उनले अहिले पनि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी सलबलाइराखेका बताए । देशका सबै कम्युनिष्टबीचको एकता अझै पनि आवश्यक रहेको दाहालको भनाइ थियो । सच्चा र इमान्दार कम्युनिष्ट एकतावद्ध हुनुपर्ने उनले बताए।
सो अवसरमा अध्यक्ष दाहालले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरूबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारे। महाअभियोग र एमसिसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वानसमेत गरे । उनले छलफलबाट मात्र टुङ्गोमा पुगिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता विरोधी ऐन, कानुन बन्ने प्रक्रिया नरोकिएकाले नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताए ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा (माओवादी केन्द्र)का प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष महेश्वर दाहाललगायतले बोलेका थिए । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुँदैछ ।

प्रतिक्रिया