आइतबार, जेठ ५, २०८२

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्- अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका दिन्न

नेपालखोज २०७८ मंसिर १९ गते १२:५५

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका हुन् ।

उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताए । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्दालाई जोड दिने बताए । उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभइ राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताए ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सिमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताए ।

नव निर्वाचित अध्यक्ष लिङदेनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए ।

आइतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङदेन पार्टीको अध्यक्ष बनेका हुन् । निःवर्तमान अध्यक्ष थापाले १ हजार ६ सय १७ र लिङदेनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया