‘निवर्तमान अध्यक्षहरुको जीवनकालमै पार्टीलाई मुलुकको बलियो शक्तिका रुपमा स्थापित गराउँछु’

नेपालखोज २०७८ मंसिर १९ गते १८:०१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गरे । आईतबार काठमाडौंमा शपथ ग्रहण गर्दै उनले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपुर्‍याई आफ्नो पार्टीलाई बलियो बनाउने बताए ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गरे । उनले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष लिङदेनले कांग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताए । उनले अव पार्टीभित्र कुनै पनि गुट नभएको दाबी समेत गरे ।

प्रतिक्रिया