शनिबार, वैशाख ८, २०८१

मुक्त जीवन !

सुनील सापकोटा २०७८ मंसिर २० गते ७:१४

कतिपय मानिसलाई देख्छु , जो आफ्नो जीवनलाई एउटा ‘टाइम टेबुल’ मा ढालेर हिँडेका छन् । बिहान यति बजे उठ्ने, यति बजे ‘मर्निङ वाक’ जाने , यति बजे ‘ब्रेकफास्ट गर्ने, यति बजे लन्च, यति बजे टिफिन, यति बजे डिनर, यति बजेभित्र राती सुतिसक्ने । यस्तो समयको बन्धनमा चल्ने मानिसहरुले जीवनमा प्रायः गल्ती गर्दैनन् भन्ने मलाई लाग्थ्यो । किनभने यस्ता मानिसहरु आफ्नो जीवनलाई पूरा प्लानिङ र म्यानेजमेन्ट गरेर बाँचिरहेका हुन्छन् भन्ने मेरो अनुमान थियो । समयमै पढाय सिध्याउनु, समयमै विवाह गर्नु, समयमै नोकरी ज्वाइन गर्नु, समयमै घर बनाउनु, समयमै बच्चा पैदा गरिसक्नु र आफ्नो बूढेसकालका लागि समयमै जोहो गर्नु आदि-इत्यादिमा यस्ता मानिसहरूले बढी ध्यान दिन्छन् र बढी प्राक्टिकल पनि हुन्छन् भन्ने लाग्थ्यो ।

यस्ता मानिसहरुको अनुहार हेर्दा जहिले पनि गम्भीर र चिन्तित देखिन्छ । रिसाएको अनुहार जस्तो लाग्छ । तिनीहरुलाई म जहिले पनि सिरियस नै देख्थे । मभन्दा ती मानिसहरु असल, जिम्मेवार र राम्रा हुन जस्तो लाग्थ्यो । यद्यपि हिजोआज त्यस्ता मानिसहरुप्रति मेरो विचार बदलिएको छ । अचेल मलाई के लाग्न थालेको छ भने त्यस्ता अनुशासित मानिसहरुले जीवनमा गल्तीहरु नगर्नु पर्ने हो, तर किन उनीहरुबाट पनि गल्ती-कमजोरी भइरहेको हुन्छ त ? यस्ता मानिसहरु खानपानमा सतर्क देखिएकाले बिरामी नपर्नु पर्ने हो, तर किन बिमारी पर्छन् ?

सुनील सापकोटा

यस्ता मानिसहरूको जिवनमा दु:ख र शंकटहरु नआउनु पर्ने हो तर किन आइरहेको छ ?
यस्ता मानिसहरुका सबैजसो योजना सफल भएको किन पाईदैन ? मलाई लाग्छ – यस्ता प्रकारका मानिसहरु जीवनलाई गणित बनाएर बढी हिसाब किताब गरेर हिंड्ने भएकाले पनि सजग र सतर्क रहदा रहदै खुस्किएका होलान् । आफ्नो जीवनको अति प्रवन्ध गर्नु पनि सहि होईन । यस्ता मानिसहरु रमाएको , हाँसेको , नाचेको देखिदैन । यस्ता मानिसहरु अलि घमण्डि र एकहरो स्वभावका हुन्छन् । तिनिहरु आत्ममुग्ध हुन्छन् र असफलताबाट जहिले पनि भयभीत रहन्छन् ।

तिनीहरु प्रायः मित्र विहीन हुन्छन् किनभने मित्रता म्यानेजमेन्टबाट आउँने कुरा होइन ।
तिनीहरु प्रायः प्रेमविहीन हुन्छ । किनभने प्रेमी वा प्रेमिकाहरुले घड़ी हेरेर वा अनुशासनमा रहेर प्रेम गरिरहेका हुदैनन् ।
तिनिहरु काव्य , चित्रकला आदि सृजना विहीन हुन्छन् । किनभने चित्र , लेख , कथा,कविता वा भनौं मनका भावहरु अप्वाइन्टमेन्ट लिएर आउँदैनन ।

अति व्यवस्थापनले मान्छे लाई मशीन बनाउँछ । व्यवस्थापनबाट जे अर्जित गरिन्छ त्यो – पद र पैसाको बन्दोबस्त होला , यसबाट जिवनमा चाहे जति खुशी र आनन्द भने प्राप्त हुँदैन । त्यसैले मजा सँग बाँच्ने हो भने समयको बन्धनमा रहेको जीवनलाई व्यवस्थापन र कठोर अनुशासन बाट अलिकती भएपनी बाहिर निकाल्नै पर्छ । यसो भन्दैमा अराजक बन्नु पर्छ भनिएको चाहिँ होइन । अलिकति भए पनि टाईमटेबलका बेड़िहरु हटाएर , आफैमा फैलिएर केहि बेफ़िक्री हुनु राम्रै हुन्छ ।
जीवनमा जुन – जुन कुराहरु मूल्यवान छन ती सबै अनुशासनबाट बाहिर छन् ।

अनुशासन भित्र रहदा काब्य सृजना हुँदैन । दिल नखोलि मज्जा सँग मनले गीत गाउँन सकिदैन , मज्जाले अट्टहास लगाउन सकिदैन । मन परेको कुरा बोल्न , हाँसो ठटटा गर्न , उफ्रिन कुदन, खान – लगाउन सकिदैन ।

हाम्रो मन स्वतन्त्र छ, मनमौजी छ ,त्यो नियममा आबद्ध छैन । अनुशासन , ईगोको क्रिया हो , त्यो कैद हो ।
अनुशासित व्यक्ति , कागजको फूल झैं हो जसमा सहजताको कुनै सुगन्ध हुँदैन । त्यो स्वकेन्द्रित र स्वार्थी हुन्छ । त्यसैले बुद्धी बाट मात्र निर्देशित भएर नबाचौं । जीवन अनुशासन भन्दा ठुलो कुरा हो ।

जीवनलाई अनुशासनमा बाँध्न सकिदैन । अनुशासन भन्दा पनि विवेकका साथ बाचौं , आफ्नो विवेकको भरोसा गरौं , नियम -कानुनको मात्र होइन। जब अनुशासनमा रहदा आफुलाइ असहज हुन्छ भने त्यस्तो अनुशासन लाई तोड़नु नै राम्रो हुन्छ ।
जीवन लाई सहज प्रवाहमा हिंड्न् दिउँ ।कहिले राती अवेर सम्म जाग्न मन लाग्छ भने, जागौं ।
कहिले बिहान अबेर सम्म निदाउँन मन छ भने निदाओैं । कहिले काम गर्न मन लागेन भने नगरौं ।
कहिले खेल्न मन लागे खेलौं , घन्टौं गफ गर्न मन लागे गफ मात्र गरौं ।

यसबाट तपाईं आफै बुझनु हुनेछ कि यी क्षणहरुले तपाइँको जीवनलाई कति पोषण र खुशी दिए , तपाईंको मनलाई कति आनन्दित तुल्याए । यो स्थितिमा तपाईं स्वयं अनुशासनमा रहँदाको आफ्नो जीवनसँग तुलना गरेर हेर्नुहोस् । बेफिक्री र तनाव रहित जीवन कति आनन्दमय लाग्छ ? मन कति चङ्गा हुन्छ ? बास्तबमा आफ्नो स्वभाव अनुसार बाँच्नु नै जिवनको आनन्द हो ।

म्यानेजमेन्ट भनेको अहंकारको क्रिया हो ।
मान्छे कुनै गाई- वस्तु हो र ? जसलाई सटिक व्यवस्थापन गर्दा धेरै दूध दिन्छ भन्नू ? यो त अविरल नदी जस्तो हो , त्यस्मा ज़्यादा बाँध बनाउनु भयो भने पहिरो र भूकम्पको खतरा बढ्छ । साच्चै भन्ने हो भने मस्तमौलाना जीवन बाँच्नु पनि एउटा आफ्नै किसिमको व्यवस्थापन हो ।

प्रतिक्रिया