बिहीबार, चैत १५, २०८०

देशमा बिमा क्षेत्रको समग्र विकासका साथै बिमाको पहुँच विस्तार गर्ने

नेपालखोज २०७८ मंसिर २० गते ११:४५

काठमाडौं । बिमा समितिको आयोजनामा आइतबार (हिजो) विराटनगरमा प्रदेश नं. १ का मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरुको उपस्थिति र सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागितामा प्रदेश सरकार र बिमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

देशमा बिमा क्षेत्रको समग्र विकासका साथै बिमाको पहुँच विस्तारका लागि बिमा समितिले प्रदेश सरकारहरुसँग छलफल एवं अन्तरक्रिया गर्ने क्रममा प्रदेश नं. १ मा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको बजेट सीमित भएकाले सुरुवाती चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्ति लगायतका विभिन्न बीमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए ।

उनले बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई पनि समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । मुख्यमन्त्री राईले जनताले बीमा गरेपछि कुनै कारणले आवश्यक प्रमाण जुटाउन ढिलाई भए पनि बीमा दाबी गर्नबाट बन्चित नहुने व्यवस्था गर्नुपर्ने बताए ।

बिमाप्रतिको जनताको आकर्षणलाई अझ व्यापक तुल्याउन बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने आवश्यकता समेत उनले औंल्याए । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका विभिन्न स्थानमा बिमा कम्पनीहरुबाट भइरहेका कामको अनुगमन गर्न केन्द्रबाट समस्या परेकाले पहिलो चरणमा कम्तीमा तीनवटा प्रदेशमा बीमा समितिको प्रदेश कार्यालय स्थापनाका लागि तयारी गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले जनताको बिमाको रकम सुरक्षित हुनुपर्छ र बिमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए । उनले देशमा बिमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बिमा समिति प्रतिवद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागीहरुले बिमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बिमा गर्न आनाकानी गर्ने गरेको, गाई भैंसीको कम मूल्य राखेर बिमा गर्ने गरेको, कृषि तथा पशुपालन गर्नका लागि तयार गरिएका भौतिक संरचनामहरुको बीमा सोही बीमा अन्तर्गत गर्ने नगरिएको, सर्वसाधारणले समयमा बीमा दाबीको भुक्तानी नपाएको लगायतका गुनासाहरु गरेका थिए ।

कार्यक्रमको संचालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरोजप्रसाद गुरागाइँले गर्नुभएको थियो भने बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले समितिका तर्फबाट बीमासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, बिमा समितिका कार्यकारी निर्देशक तथा निर्देशक र विभिन्न सरकारी निकायका पदाधिकारीहरु सहभागी थिए । यसैगरी, कार्यक्रममा उद्योगी व्यवसायी, विभिन्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरु गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया