बिहीबार, वैशाख १३, २०८१

प्रधानन्याायधीश जबरा विरुद्ध सर्वोच्च परिसरमा विरोध प्रदर्शन

नेपालखोज २०७८ मंसिर २१ गते १४:२६

काठमाडौं । प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ । आज पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय संचालन हुन नसकेको बताए । उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाए । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे ।

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए । नेपाल बार एशोसिएशनसहित देशभरका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

प्रतिक्रिया