बिहीबार, वैशाख ६, २०८१

चिसो बढ्ने भएकाले सतर्क रहन विज्ञको सुझाव

नेपालखोज २०७८ मंसिर २१ गते १५:१७

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरुले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम, धूलोको मात्रा धेरै हुने र वायु पृथ्वीको सतह नजिकै रहने भएकाले चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरुले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रुपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएकाले तयारी थाल्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्नेमा जोड दिएका छन् । उनले भारतमा हरेक वर्ष ४ वटा चक्रवात आउने गरेको र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने पनि बताए ।

डा. उप्रेतीले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेका छन् । वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले यस समयमा घरबाहिर ननिस्कन आग्रह गर्दै उनले अत्याधिक वायु प्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालालाई सचेत गराएका छन् ।

धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरु बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिनेमा जोड दिन्छन् डा. उप्रेती । राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गर्दै त्यसबारेमा आम नागरिकहरुलाई सचेत गराउन आवश्यक रहेकोमा उप्रेतीले जोड दिएका छन् । उनले वायु प्रदूषणलाई बेवास्ता गरे मृत्युदर बढाउने समेत चेतावनी दिएका छन् । वायु प्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन डा. उप्रेतीले आग्रह गरेका छन् ।

यता राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने जनाएका छन् ।

संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउने विज्ञहरू बताउँछन् । डा. भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुराहरु प्राधिकरणले पूरा गर्ने आश्वासन दिएका छन् । उनले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको जनाए ।

प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैंले पूर्वसूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौती रहेको जनाएका छन् । उनले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरुलाई गम्भीरताका साथ लिएरमात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको खुलासा गरेका छन् । सूचना अधिकारी भट्टराईले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनालाई प्रमाणीकरण गरेर मात्रै जनतालाई सूचना दिने गरिएको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया